महोत्तरी, २३ माघ । नेपाल सरकारको विद्यालय पोषण तथा स्वास्थ्य निर्देशिका २०७१ अनुसार विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य जाँच सम्बन्धी शिक्षकहरुलाई २ दिने तालिम आज माघ २३ गते जलेश्वरमा सम्पन्न भएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा एकीकृत ग्रामिण विकास समाज र दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आयोजनामा सम्पन्न उक्त तालिममा एकडारा गाउँपालिकाका विभिन्न विद्यालयका २२ जना स्वास्थ्य सम्पर्क शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिममा विद्यालय पोषण तथा स्वास्थ्य निर्देशिका अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य जाँच अन्तर्गत आँखा, कान, दाँतको जाँच गर्ने, बालबालिकाको उचाई, वजन आदि समेत कसरी लिने भन्ने विषयमा जानकारी दिइएको थियो ।
माघ २२ गतेबाट शुरु भएको तालिममा स्वास्थ्य कार्यालय महोत्तरीका प्रतिभा सिंह, एकडारा गाउँपालिकाका स्वास्थ्य शाखाका इब्राहिम नडाफ, वल्र्ड भिजन इन्टरनेसनल नेपालका दिलिप यादव, एकीकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत भुपेन्द्र निरौला, फिल्ड अधिकृत राजिव कुमार झा र गुलाम अन्सारीले सहजीकरण गर्नुभएको थियो ।
आयोजक संस्थाले दिएको जानकारी अनुसार तालिम पश्चात शिक्षकहरुले आफ्नो आफ्नो विद्यालयका प्रारम्भिक बालविकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य जाँच गर्नेछन् ।
यस प्रकारको जाँचबाट बालबालिकाहरुमा आउन सक्ने स्वास्थ्य जटिलता तथा समस्याहरु बेलैमा पहिचान भई उपचार गर्न सहज हुने जानकारी सहभागी शिक्षकहरुले जानकारी दिनुभयो । प्रारम्भिक स्वास्थ्य जाँचका समयमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी बालबालिकाहरुलाई सचेतनामुलक जानकारी समेत दिइने आयोजक संस्थाले जानकारी दिएको छ ।