काठमाडौँ, २३ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कार्यलाई छिटो र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज बिहान कास्कीस्थित सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको निरीक्षणका क्रममा मन्त्री खड्काले परियोजनामा आवश्यक जनशक्ति थपेर निर्माण कार्यलाई गति दिन आग्रह गरे। उनले रुपातालको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै काम निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
मन्त्री खड्काले भने, “रुपाताल संरक्षणको काम ढिलो हुन हुँदैन। समयमै पूरा गर्न मन्त्रालयले आवश्यक सहयोग उपलब्ध गराउनेछ।”
हाल रुपाताल संरक्षण परियोजना अन्तर्गत ५९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध निर्माण भइरहेको छ। परियोजना सम्पन्न भएपछि तालको क्षेत्रफल १२२ हेक्टरबाट १८३ हेक्टरमा विस्तार हुने अनुमान गरिएको छ।
परियोजनाका लागि १,१०० रोपनी जग्गा अधिग्रहण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ९०० रोपनी अधिग्रहण भइसकेको छ। आयोजनाका प्रमुख विदुरमान श्रेष्ठका अनुसार बाँकी प्रक्रिया छिट्टै पूरा गरिनेछ।
मन्त्री खड्कासँगै अनुगमन टोलीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत नेताहरू सहभागी थिए।