निर्दोष बैठालाई फसाउन खोज्ने डिएसपी रायलाई कारवाहीको माग गर्दै पीडित परिवारद्धारा धर्ना

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार आज धर्नामा बसेको छ ।
रौतहटको बौद्धिमाई नगरपालिका ८ का स्थानीय गंगाराम बैठालाई झुठो मुद्धामा फसाउन चलखेल गर्ने डिएसपी रायलाई कारवाही गर्नुपर्ने र बैठालाई रिहा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।
बौद्धिमाई नगरपालिका बंकुल बजारको दुर्गा मन्दिर छेउवामा उनीहरु धर्ना बसेका छन् । बैठाका श्रीमती चमेली देवी, छोरा दिपेन्द्र बैठा, छोरी दुर्गा रजत, भाई सुरेश बैठा, भाई धिरज बैठा सहित स्थानीय एवं छिमेकीहरु धर्नामा बसेका छन् ।
पीडित परिवार धर्नामा बसेपछि रौतहटका प्रहरी उपरिक्षक (एसपी) दिलिप घिमिरेले बैठा तोडफोड घटनामा संलग्न रहेको र पुरानो कर्तव्य ज्यान मुद्धामा थुनछेक बहस हुँदा निजलाई पुर्पपक्षका लागि थुनामा राख्ने अदालतको आदेश अनुसार गौर कारागारमा रहेको बताए ।
रौतहटका डिएसपी रायले एक बिज्ञप्ती जारी गर्दै तथ्यहिन, भ्रामक तथा झुठा स्टाटस सामाजिक सञ्जालमा लेखेर बदनाम गराउन खोजेकाले त्यसमा विश्वास नगर्न भन्दै त्यस्तो कार्यप्रति जिप्रकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
गत पुस ८ गते बौद्धिमाई नगरपालिकाको वडा नं. ८ सरमुजवामा नाला निर्माणका लागि अतिक्रमित जग्गा खाली गराउँने क्रममा ढुंगामुढा भएको र जेसिवीमा तोडफोड गर्ने कार्यमा बैठा संलग्न रहेको डिएसपी रायले जनाएका छन् । साथै यो आपराधिक उपद्रव मुद्धामा चल्दैगर्दा २०५९ साल भदौ २९ गतेमा दर्ता भएको कर्तव्य ज्यान मुद्धामा समेत बैठा प्रतिवादी रहेको र सो मुद्धा मुल्तवीमा रहेकाले अदालतको गत माघ ६ गते भएको थुनछेक बहसमा बैठालाई पुर्पक्षका लागि गौर कारागार राखिएको डिसपी रायले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यता डिएसपी रायको बिज्ञप्ती सार्वजनिक भएपछि तोडफोडको घटनामा बैठा संलग्न रहेको भन्ने कुरा प्रमाणित गर्न आम जनता पार्टी (आजपा)का महासचिव त्रिभुवन साह अमरले चुनौति दिएका छन् ।
‘उक्त घटनामा वृद्ध गंगाराम बैठाको संलग्नता पुष्टि गर्न म डिएसपी साहेबलाई चुनौती दिन चाहन्छु । घटना स्थलमा हुदै नभएका व्यक्तिलाई दोषी करार गर्नु अपराध हो कि होईंन ? हो भन्ने तपाई स्वम् दोषी हो । यसमा नेपाल प्रहरीका सम्बन्धित निकायले छानबिन गरोस भन्ने माग गर्दछु’ महासचिव साहले फेसबुकमा स्टाटस लेखेका छन् ।