
फागुन २१ गते । सागरनाथ वन विकास परियोजनाले एक ट्रक अर्थात झण्डै तीन सय क्यूविफिट अवैध काठ बरामद गरेको छ ।
परियोजना र सशस्त्र प्रहरी वल सागरनाथ वेश क्याम्पबाट गएको संयुक्त टोलीले जिल्लाको ईश्वरपुर नगरपालिका ५ फुलजोर र वडा नम्बर १३ श्रीनगरस्थित बम्जन टोलबाट झण्डै तीन क्यूबिफिट बराबरको काठ बरामद गरेको परियोजनाले जनाएको छ ।
परियोजना प्रमुख खेमलाल विश्वकर्माका अनुसार परियोजना क्षेत्रबाट चोरी तस्करी गरी घरमा लुकाई छिपाई राखी अन्यन्त्र पैठारी गर्न लागेको सूचनाको आधारमा साल र टिक जातका काठका गोलियाहरु बरामद गरिएको हो । उहाँका अनुसार फरेष्टर गंगा ठाकुर नेतृत्वको परियोजनाको (फुलजोर र सागरनाथको संयुक्त गस्ती टोली) टोलीले बरामद गरेको काठ वन ऐन २०७६ अनुसार आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय लालबन्दी पठाउने तयारी गरिएको छ ।
तस्करहरु भने काठ बरामद गर्न गएको परियोजना र सशस्त्र प्रहरी बलको टोलीलाई देखेपछि फरार भएका परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,‘पछिल्लो समय परियोजना क्षेत्रमा अवैठ काठ तस्करीका घटनाहरु नियन्त्रणका लागि परियोजनाले कडाईका साथ गस्ती परिचालन गरिरहेको छ । आगामी दिनमा चोरी तस्करीका घटना निमिट्यान्न पार्न परियोजना प्रयासरत छ ।’
उहाँले अहिले हावाहुरीको मौसम भएकोले वनमा आगलागिका घटनाहरु बढेको बताउनुहुँदै वनमा गोठाला गएका र सिकारीहरुबाट यस्ता घटना भएकाले यसको नियन्त्रणका लागि ठोस योजनाका साथ परियोजना अघि बढेको बताउनुभयो । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई विभिन्न सञ्चारमाध्यम मार्फत सचेत तुल्याउने कार्य भएको र सूचनाको बर्खिलाप गर्नेलाई वन ऐन २०७६ अनुसार कडा कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।