१० भाद्र २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मलको अभाव नभएको भन्दै प्रधानमन्त्री ओलीले किसानलाई झुक्याए : प्रभु साह – Nigrani Today
ताजा खबर

मलको अभाव नभएको भन्दै प्रधानमन्त्री ओलीले किसानलाई झुक्याए : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मलको हाहाकार भएको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले मलको अभाव नरहेको भन्दै हावादारी कुरा गरेर किसानको जीवनसंग खेलवाड गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको  (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले किसानहरु मलको अभावले खेतीपाती गर्न समस्या झेलिरहेको बेलामा प्रधानमन्त्री ओलीले हावादारी कुरा गर्न ठिक नभएको बताए ।

एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाउदै आजपा अध्यक्ष साहले भने, ‘अहिले खेतीपातीको समयमा मलको हाहाकार छ । किसानहरु मलका लागि तडपिइरहेका छन् । एकातिर प्रधानमन्त्री भन्नुहुन्छ मलको अभाव छैन् । मलखाद्य किसानको जीवन हो सभामुख महोदय । जीवनसंग यसरी खेलवाड गर्न मिल्दैन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले हावादारी कुरा गरेर किसानको जीवनसंग खेलवाड गर्नु दुखद हो ।’

प्रधानमन्त्रीले मलको अभाव नभएको बताउदै गर्दा उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य भएको बताए । प्रधानमन्त्री ओलीले मलको अभाव नरहेको भनेको विषयमा सत्यता नरहेको उनले बताए ।

‘सरकारकै सिफारिस अनुसार प्रति हेक्टरमा युरिया मल २४५ केजी अर्थात चार बोरा लाग्छ । डिएपी ८७ केजी लाग्ने सरकारकै सिफारिसमा छ । ६७ केजी पोटास लाग्छ । धान खेतीका लागि डिएपी, पोटास कति लाग्ने भन्ने सरकारकै सिफारिसमा छ । २ जोड २ चार हुन्छ तर प्रधानमन्त्रीजीले ५ भनिराख्नुभएको छ । कृषी प्रधानदेशमा यसरी किसानको जीवनसंग खेलवाड गर्न मिल्छ कि मिल्दैन् ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

उनले रौतहटको आफू जनप्रतिनिधि भएको र रौतहटमा ५२ हजार हेक्टरमा खेती हुने गरेको र सरकारकै सिफारि अनुसार १३ हजार मेट्रिकटन युरिया चाहिन्छ । तर अहिलेसम्म रौतहटमा तीन हजार मेट्रिकटन युरिया मल मात्रै गएको उनले बताए । ‘जहाँ १३ हजार मेट्रिकटन युरिया चाहिन्छ, त्यहाँ ३ हजार मेट्रिकटन दिने र मलको कुनै अभाव छैन भन्नु कतिको उचित छ ? कतिको मिल्छ भन्ने म प्रश्न गर्न चाहन्छु,’ उनले भने ।

प्रधानमन्त्रीले स्टकमा २९ हजार मेट्रिकटन खाद्य भएको बताउने तर अहिलेको सिजनमै दुई लाख मेट्रिकटन खाद्य आवश्यक भएको उनले बताए । प्रधानमन्त्रीले किसानको जीवनसंग गम्भिर हुनुको साटो, जस्ताको त्यस्तै सूचना दिनुको साटो मान्छेलाई हावादारी आश्वास दिने र झुठो कुरा गरेर किसानहरु झनै दुखित भएको उनले बताए ।

किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ । नेपालमा मल नपाउदा किसानहरु भारतबाट मल ल्याउँदा सरकारकै मान्छेले रोक्ने, खोस्ने काम गर्नु झन दुखद भएको उनले बताए । यसबारेमा कृषी मन्त्रीले वास्तविक जानकारी दिनुपर्ने माग समेत उनले गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button