भोली जिल्लाभर लाइन सट–डाउन, ४ घण्टा बिजुली अवरुद्ध हुने

सर्लाहीमा भोली जिल्लाभर ४ घण्टा बिजुली अवरुद्ध हुने भएको छ । नवलपुरस्थित सवस्टेशनमा ६३ एमभिए ट्रान्सफर्मरमा एच भि साइडको सर्किट ब्रेकर कन्ट्रोल वाइरिङ गर्न जिल्लाभर लाइन सट–डाउन गर्न लागिएको हो । ढल्केबर ग्रिड महाशाखाले बिहीबार सूचना जारी असोज ३ गते, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाभरको बिजुली अवरुद्ध हुने जनाएको छ ।
उक्त सूचना अनुसार लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्र अन्तर्गतको सबै क्षेत्रमा भोली ४ घण्टा बिजुली अवरुद्ध हुने ढल्केबर ग्रिड महाशाखा प्रमुख इन्जिनियर सूर्यनारायण मण्डलले जानकारी दिए । नवलपुर सवस्टेशनमा यसअघि पनि मर्मत सम्भारका लागि घण्टौँ सम्म बिजुली अवरुद्ध गरेर काम हुने गरेको थियो ।
तर प्राधिकरणले सूचना निकालेर जानकारी गराएको भन्दा बढी समय बिजुली कटौति हुने गरेको गुनासो ग्राहकले गर्दै आइरहेका छन् ।