
सिन्धुपाल्चोक, ६ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की सरकार र केपी ओलीले मुलुकलाई एकपछि अर्को गरेर नियन्त्रित अस्थिरताको भूमरीमा हालेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरूपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको र अहिले नियन्त्रित अस्थिरता चाहेको साहको आरोप छ ।
आज (शनिबार) सिन्धुपाल्चोकको चौतारा स्थित अरनिको रिसोर्टमा सम्पन्न भएको पार्टीको जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरुको सडकमा जबरजस्त उपस्थिति र चहलपहलपनि नियाल्दा जेन–जी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए ।
उनले भने, ‘मैले भन्ने गरेको छु, युवाहरुको आक्रोश सही थियो, आन्दोलन पनि सही थियो, तर आन्दोलन कसले अपहरण गर्यो ? सुशीला कार्की, ओमप्रकाश र कुलमानहरुले, यो त छर्लङ्गै भइसक्यो, उनीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि प्रहार गरेका छन् । आज आन्दोलनकारीमाथि धमाधम मुद्दा चल्दैछ, आन्दोलनकारी भन्दै युवाहरुलाई पक्राउ गरिएको छ, तर युवाहरुलाई छाती र टाउकोमा ताकि ताकि गोली हान्ने हत्याराहरु खुलेआम देशलाई चूनौति दिइरहेका छन्, यो सरकारको गृहमन्त्री लाचार देखिएका छन् ।’
गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआर अनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरुसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।
जेलबाट बाहिर निस्किएको भनेर रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने सरकारले भदौ २३ गते जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरुलाई हत्या गर्ने तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई अहिलेसम्म किन बयान नलिएको भनेर पूर्वमन्त्री साहले प्रश्न गरे ।
‘रवि लामिछानेलाई सिंहदरबारमा बोलाएर बयान लिने सरकारले जेनजी आन्दोनलमा दमन गर्ने र हत्या गर्नेहरुलाई किन बयान लिन सकेन ? किन डराएर बसेको छ ? एउटा आयोगको पदाधिकारीको पनि यो सरकारले सुरक्षा लिन नसक्ने अवस्था छ, अनि कसरी चुनाव गराउँछ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।
उनले सुशीला सरकारलाई शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउनमात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए । उनले सरकार चुनाव गराउने कुरामा गम्भीर नभएको विषय सरकारमा सहभागी मन्त्रीहरूको चरम महत्वकांक्षाले पनि पुष्टि गरिसकेको आरोप लगाए । उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङले दल खोलेर राजनीति गरेको भन्दै राजनीति नै गर्न मन लागेको भए जेन–जी आन्दोलनअघि किन दल नखोलेको र अहिले निर्दलीय सरकारमा बसेर किन दल खोलेको भनेर प्रश्न गरे ।
गृहमन्त्री अर्याललाई तत्काल लुटिएका हतियार र फरार कैदीबन्दीहरु नियन्त्रणमा लिएर चुनाव गराउन सक्छु भन्ने सन्देश दिन साहको सुझाव छ । गृहमन्त्री लुते भएकै कारण आज जसले गृहमन्त्रीको कुर्सीमा राखेको उनीहरुले नै राजीनामा मागेको भन्दै यो माग जायज रहेको पनि साहको टिप्पणी छ । बोल्ड गृहमन्त्री भएको भए देशव्यापी रुपमा एमालेले अराजकता र जेनजी युवाहरुलाई हातपात गर्न नसक्ने उनको ठम्याई छ ।
बाराको सिमरामा भएको घट्नामा पनि प्रहरी प्रशासनको अगाडि जेनजी युवाहरुलाई शान्तिपूर्ण प्रदर्शन गरेकै कारण कुटपिट भएको भन्दै यस्ता घट्ना दोहोरिन नदिनको लागि सरकारलाई चेतावनी दिए ।
जेन–जी आन्दोनलपछि दल खोल्ने होडबाजी चलेकोप्रति पनि साहले गम्भीर टिप्पणी गरे । उनले अवसरवादीहरुले चुनावलाई मात्रै ध्यानमा राखेर दल खोलेको भन्दै यिनीहरुले देश र जनता नै नबुझेको आरोप लगाए । उनले भने, ‘हिजो देशको पक्षमा काम गर्नको लागि यिनीहरुलाई के कुराले रोक्यो ? अहिले चुनावको लागि मात्रै अवसर छोप्नको लागि यिनीहरु दल दर्ता गर्दैछन्, यो कुरा जनताले नजिकबाट हेरिरहेका छन् । दल खोल्नेपनि फेशनजस्तो भयो, चुनावमा उठेर सांसद बनिहाल्छुकी भनेर नाटक चलिरहेको छ, जनताको पक्षमा काम गर्ने र देशको हितको लागि भनेर यिनीहरुले दल खोलेकोजस्तो मलाई लाग्दैन ।’
एमाले अध्यक्ष केपी ओलीको कारण मुलुक मुठभेडको अवस्थामा जाने खतरा रहेको पनि उनको टिप्पणी छ । साहले जेनजी आन्दोलनमा दमन गरेका ओलीले चुनाव भाँड्नेगरि पार्टी पँक्तिलाई दुरुपयोग गरेको र दिनदिनै नयाँ नयाँ नाटक मञ्चन गरेको भन्दै देशभक्त एमालेजनले अब चुनावको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए । साहले राज्य सत्ताको नेतृत्वबाट आफ्नै हठको कारण पछारिनुपरेका ओलीले अब पार्टी सत्ताबाट पनि हात धुनुपर्ने दिन आउन लागेको भन्दै अहिले युवा दस्ता तयार पारेर शक्ति प्रदर्शनमा उत्रिएको भन्दै तमाशा देखाउन बन्द गर्न सुझाव दिए ।
आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा आजपा सहअध्यक्ष एंव संविधान सभाका सभाषद तिलक थापामगर, वागमती प्रदेशका इन्चार्ज धनकुमारी मगर, वाग्मती प्रदेश अध्यक्ष पसाङ तामाङ, सचिवालय सदस्यहरु सुभाष साह, रन्जु साह, सिमा जैसवाल, बिन्दा कटुवाल, अन्जना तामाङ, सुनिता तामाङ, सुमन गुरुङ, कोशिला देवी साह लगायतको बिशेष सहभागिता रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।



