हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ मा अवस्थित हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ । संस्थाको आयोजनामा तथा अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षतामा शनिवार साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले सहकारीले स्थापना कालदेखि हालसम्म आइपुग्दा हासिल गरेका उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराउँदै सहकारी सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र कर्मचारीहरूको मेहनतकै कारण संस्था निरन्तर प्रगतिपथमा अघि बढ्न सफल भएको बताउनुभयो ।

उहाँले सहकारीको मूल मर्म आत्मसात् गर्दै पारदर्शिता, सुशासन र सदस्य हितलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारणसभामा संस्थाका प्रबन्धक तिलक प्रसाद खतिवडाले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । प्रस्तुत विवरणअनुसार हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा १३ करोड ६० लाख रुपैयाँको कुल कारोबार गरेको छ । सो मध्ये संस्थाले ४४ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो । व्यवस्थापन पक्षबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
हाल यस सहकारी संस्थामा कुल १,२५५ जना सेयर सदस्य आबद्ध रहेका छन् । सदस्यहरूको संख्या तथा आर्थिक कारोबार दुवै हिसाबले संस्था मजबुत बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा बचत संकलन, कर्जा प्रवाह तथा सदस्य केन्द्रित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।
हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सर्लाही जिल्लाकै पुरानो तथा उत्तरी क्षेत्रको पहिलो सहकारी संस्थाका रूपमा चिनिन्छ । संस्था वि.सं. २०५५ सालमा स्थापना भएको हो भने सर्लाही जिल्लामा दर्ता भएका सहकारी संस्थामध्ये तेस्रो नम्बरमा दर्ता भएको पुरानो संस्थाका रूपमा यसको छुट्टै पहिचान रहेको छ । लामो इतिहास बोकेको यस संस्थाले सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
साधारणसभाको अवसरमा संस्थाले सफल उद्यमी, उत्कृष्ट कर्मचारी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममार्फत सहकारीमार्फत आत्मनिर्भर बन्न प्रेरणा दिने तथा संस्थाको विकासमा योगदान पुर्याउने व्यक्तिहरूको कदर गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका ज्येष्ठ सदस्य बल बहादुर योगी र महालक्ष्मी उप्रेती रहनुभएको थियो । साथै अतिथिका रूपमा संस्थापक अध्यक्ष कृष्ण प्रसाद सुवेदी, पूर्व अध्यक्ष शुसिला कार्की, पूर्व कार्यवाहक अध्यक्ष कल्पना सुवेदी, रामप्रसाद घिमिरे, रविन्द्र भट्टराई, गोपाल महत, खेम भण्डारी, गंगा भण्डारी, सुकदेव कार्की, धनमाया विक, हेम भुजेल लगायत विभिन्न स्थानीय संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसैगरी, साधारणसभाको अवसरमा ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमार्फत २ सय जना ज्येष्ठ नागरिकले आँखा परीक्षण, उपचार तथा औषधि सेवा प्राप्त गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले स्थानीय समुदायमा सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमको सञ्चालन संस्थागत सचिव चन्द्र उप्रेतीले गर्नुभएको थियो । साधारणसभाको समापनसँगै सहभागीहरूले सहकारीको निरन्तर प्रगति र दीगो विकासको कामना व्यक्त गरेका थिए ।



