सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री वृद्धको मृत्यु
सर्लाही, ९ पुस । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही पुल नजिक पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका–७, मुसैली टोल निवासी ७० वर्षीय वृद्ध रामबिलास महतो रहेको छ । मंगलवार नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री वृद्धलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको तत्काल उद्धार गरी नवलपुरस्थित भानु अञ्जली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगञ्जतर्फ रिफर गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका ती पैदल यात्री वृद्धलाई वीरगञ्जस्थित न्युरो अस्पताल पु¥याइएपछि दिउँसो करिब १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न मोटरसाइकलमा पछाडि सवार मोटरसाइकल चालककी श्रीमती अन्दाजी २९ वर्षीया बिर्सना माया भुजेललाई सामान्य चोट लागेको र उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
उपचार प्रक्रियामा मोटरसाइकल चालकका आफन्त रामहरि भुजेल संलग्न रहेका थिए । ठक्कर दिने मोटरसाइकल र चालक सर्लाही रानिगञ्ज टोल बस्ने अन्दाजी ३१ वर्षका सुनिल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो करिब ३ः०० बजेको समयमा मृतकको पहिचानका क्रममा उनका भाइ ओसिन्दर महतो इलाका प्रहरी कार्यालय लालबन्दीमा उपस्थित भई फोटोमार्फत मृत्कको सनाखत गरेको प्रहरीले जनाएको छ ।



