१७ माघ २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा फेरि ठुलो परिमाणमा अवैध गाँजा खेती फडानी – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा फेरि ठुलो परिमाणमा अवैध गाँजा खेती फडानी

सर्लाही । सर्लाही जिल्लामा फेरि ठुलो परिमाणमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गरिएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको ४० जनाको संयुक्त प्रहरी टोलीले विशेष अभियान सञ्चालन गर्दै अवैध गाँजा खेती नष्ट गरेको हो।

प्रहरी टोलीले सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १४ र १५ अन्तर्गत पर्ने सिर कालिन्जोर, सिरु डाँडा, ब्लोन टोल तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब १३ बिग्हा क्षेत्रफलमा फैलिएको करिब २ लाख गाँजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। लागुऔषध नियन्त्रण तथा अवैध खेती अन्त्य गर्ने उद्देश्यले नियमित अनुगमन र विशेष अभियान अन्तर्गत उक्त कारबाही गरिएको प्रहरीले बताएको छ।

यसअघि पनि प्रहरीले सर्लाहीमा ठुलो परिमाणमा अवैध गाँजा खेती नष्ट गरिसकेको छ। केही समयअघि लालबन्दी नगरपालिका वडा नं. १४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न स्थानमा करिब ४० बिग्हा जग्गामा अवैध रूपमा लगाइएको करिब २ लाख गाँजाका बोट फडानी तथा नष्ट गरिएको थियो।

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि अवैध गाँजा खेतीविरुद्ध प्रहरी कारबाही गरिएको छ। ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा करिब साढे ३ बिग्हा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले पूर्ण रूपमा नष्ट गरेको हो। उक्त क्षेत्रमा अन्य कृषि बाली उत्पादन राम्रो नहुने भएकाले स्थानीयवासीहरूले आय–आर्जनका लागि लामो समयदेखि लुकीछिपी गाँजा खेती गर्दै आएको बताइएको छ।

यद्यपि, स्थानीयका लागि गाँजा खेती सहज आम्दानीको माध्यम भए पनि नेपालको प्रचलित कानुन अनुसार गाँजा खेती पूर्ण रूपमा अवैधानिक रहेकाले सुरक्षानिकायले निरन्तर निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यस्ता अवैध गतिविधिविरुद्ध आगामी दिनमा पनि कडाइका साथ अभियान जारी रहनेछ।

साथै, सुरक्षानिकायले चुरे क्षेत्रका अन्य सम्भावित अवैध खेती तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निगरानी अझ कडा बनाइने जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button