ब्रेक लगाउँदा ट्रयाक्टरबाट उखु झर्दा चालकको मृत्यु

सर्लाही जिल्लाको गोडैता नगरपालिका–४ रहुवा स्थित हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहीवार गडहियाबाट बगदह तर्फ जाँदै गरेको म.प्र.०३–००१ त ७९०५ नम्बरको उखु लोड ट्रयाक्टर ब्रेक लगाउने क्रममा ट्रयाक्टरमा लोड गरिएको उखु ट्रलीबाट खसेको थियो। सो क्रममा ट्रयाक्टर चालक स्वयं उखुमा थिचिएर गम्भीर घाइते भएका थिए।
मृत्क रौतहट जिल्लाको राजदेवी नगरपालिका–६ मोहनपुर निवासी महेश पटेलका छोरा अन्दाजी ३० वर्षीय राजु पटेल रहेको खुलेको छ। उनलाई घाइते पश्चात तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गडहिया सर्लाहीबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।



