कार्यसम्पादनमा सर्लाहीका स्थानीय तह कमजोर, बरहथवा पहिलो

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सार्वजनिक गरेको छ । आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीमा सबैभन्दा राम्रो बरहथवा नगरपालिका र सबैभन्दा कमजोर स्थानीय तह चन्द्रनगर गाउँपालिका रहेको डाटा सार्वजनिक गरेको छ ।
स्थानीय तहहरूले गर्ने बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन र सेवा प्रवाह जस्ता विभिन्न १७ वटा सूचकका आधारमा गरिएको यस मूल्याङ्कनमा मधेसका धेरैजसो स्थानीय तहको प्रदर्शन सन्तोषजनक देखिएको छैन ।
कार्यसम्पादन मूल्याङ्कनमा बरहथवा नगरपालिका पहिलो भएको छ । बरहथवा नगरपालिका ६४.३९ अंकसहित पहिलो भएको हो । यसैगरी हरिवन नगरपालिका ६२.०२ अंक सहित दोस्रो र हरिपुर नगरपालिका ६१.१९ अंक सहित तेस्रो भएको छ ।
त्यस्तै बलरा नगरपालिका ५०.२७, धनकौल गाउँपालिका ५३.३७, मलंगवा नगरपालिका ४९.२५, ईश्वरपुर नगरपालिका ४६.८३ अंक, पर्सा गाउँपालिका ४६.०८ अंक प्राप्त गर्दै सूचीमा समेटिएका छन्। बसबरिया गाउँपालिका ४५.६१, तथा गोडैता नगरपालिका ४३.९६ अंक प्राप्त गरेका छन्। यसैगरी हरिपुर्वा नगरपालिका ४२.८०, कविलासी नगरपालिका ४२.३६,रामनगर गाउँपालिका ४०.५३ अंक र सबैभन्दा कम चन्द्रनगर गाउँपालिका ३५.१६ अंकसहित न्यून अंक प्राप्त गर्ने पालिकामा परेको छ।
आयोगले सार्वजनिक गरेको मूल्याङ्कन सुशासन, वित्तीय अनुशासन, सेवा प्रवाह र विकास व्यवस्थापनका आधारमा गरिएको बताइएको छ। यस मूल्याङ्कनले स्थानीय तहलाई आफ्नो कमजोरी सुधार गर्न तथा सेवा प्रवाह प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका महासंघ मधेश प्रदेशका अधिकृत मनोज साहले जानकारी दिनुभयो ।
लेखापरीक्षण, बेरुजुको अवस्था, विद्यालयमा विद्यार्थी टिकाउ दर र स्वास्थ्य सेवा जस्ता आधारभूत सूचकहरूमा यी तहहरूको स्कोर न्यून रहेको छ ।
यसरी कार्यसम्पादनमा कमजोर देखिने स्थानीय तहहरूले आगामी दिनमा सङ्घीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानमा समेत कटौतीको सामना गर्नुपर्ने हुनसक्छ ।


