आफ्नो स्वास चलुञ्जेल दाइजो प्रथा अन्त्य गर्न संघर्ष जारी राख्ने उपसभामुख रुबीकुमारी ठाकुरको घोषणा

सर्लाही,१० जेष्ठ ।नेपालकी उपसभामुख रुवी कुमारी ठाकुर ले आफ्नो स्वास चलुञ्जेल दाइजो प्रथा अन्त्य गर्न संघर्ष जारी राख्ने बताउनुभएको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं। २ स्थित गौचरनमा आज आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत सभालाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले छोरा–छोरीबीच हुने विभेद अन्त्य गरी छोरीलाई शिक्षित बनाउन अभिभावकलाई आग्रह गर्नुभयो। “जबसम्म समाज दाइजोमुक्त हुँदैन, तबसम्म म यो अभियान छोड्दिनँ,” उहाँले भन्नुभयो।
उपसभामुख ठाकुरले धेरै छोरी भएका परिवारलाई समाजले बोझको रूपमा हेर्ने गलत सोच अझै कायम रहेको उल्लेख गर्दै यस्तो मानसिकता परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले आफूले पहिलो पटक संसद्मा दाइजो प्रथाको विषय उठाएको स्मरण गर्दै दाइजो उन्मूलन अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
“जसरी सीतामाताको सम्मान गरिन्छ, त्यसरी नै आफ्ना छोरीहरूको सम्मान गर्नुस्। आफ्ना छोरीलाई सीतामाता र म जस्तै सक्षम बनाउनुस्,” उहाँले भन्नुभयो।
उहाँले विवाहका क्रममा केटापक्षले भोजभतेरदेखि विभिन्न बहानामा आर्थिक दबाब दिने गरेको उल्लेख गर्दै दाइजो मधेशको ठूलो सामाजिक रोग भएको बताउनुभयो। “यो रोग अन्त्य नभएसम्म म लडिरहन्छु,” उहाँको भनाइ थियो।
आफू गरिब परिवारबाट आएको स्मरण गर्दै उपसभामुख ठाकुरले शिक्षा नै सफलताको मुख्य आधार भएको बताउनुभयो। “आज म उपसभामुख बन्दा मेरा अभिभावक गर्व गर्छन्। छोरीहरूले उच्च शिक्षा पाए भने म जस्तै जिम्मेवार पदमा पुग्न सक्छन्,” उहाँले बताउनुभयो।



