बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम सम्पन्न

सर्लाही,८ पौष । सर्लाहीको लालबन्दी नगरपालिकामा बिहिवार बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । पर्सा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, स्वास्थ्य संस्था, बाल क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा बालमैत्री स्थानीय शासनको औचित्यता, आवश्यकता, रणनीतिहरु, सूचकहरुका बारेमा छलफल गरिएको थियो ।
पर्सा गाउँपालिकाको समन्वय तथा वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल स्पोन्सरशिप परियोजनाको आयोजनामा संचालित तालिममा बोल्दै पर्सा गाउँपालिका उपाध्यक्ष इन्द्रकला देवी साहले बालबालिकाको अधिकार प्रवद्र्धन गर्दै गाउँपालिकालाई बालमैत्री बनाउने अभियान शुरु भएको बताउनुभयो ।
“बालबालिकाको भविष्य हामी वयष्यहरुको हातमा भएको हुनाले उनीहरुको सुन्दर भविष्य निर्माणका लागि सबै जना एकजुट हुनुपर्छ ।” उपाध्यक्ष साहले भन्नुभयो “बालमैत्री गाउँपालिका बनाउनका लागि यससँग सरोकार राख्ने सबै पक्षसँग हातेमालो गरेर अगाडि बढ्न गाउँपालिका तयार रहेको छ ।”
पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने अभियान अन्तर्गत पहिलो चरणमा वडा नं. ५ र ६ मा विशेष गतिविधिहरु संचालन गर्ने कुरा वडा नं. ५ का अध्यक्ष उमेश रायले जानकारी दिनुभयो ।
पौष ०६ गतेदेखि पौष ०८ गतेसम्म संचालन भएको तालिमको सहजीकरण वल्र्डभिजन इन्टरनेसनलका सीता चौधरी र बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले गर्नुभएको थियो ।
तालिमको अन्त्यमा पर्सा गाउँपालिकालाई बालमैत्री बनाउनका लागि आगामी दिनमा संचालन गर्ने क्रियाकलापहरु सहितको कार्ययोजना समेत निर्माण गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।