
लालबन्दी,३ माघ । सर्लाही प्रहरीले आज १२ बिघा क्षेत्रफलमा लगाएको अबैध गाँजा खेती मासेको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोला स्थित रहेको विभिन्न स्थानमा प्रतिबन्धित लागु औषध गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यो सँगै सोहि स्थानमा प्रहरीले चौथो पटक गाँजाको बोट फडानी गरेको छ ।
प्रहरीले गाँजा फडानीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बाट २० जना, ईलाका प्रहरी कार्यालय लालबन्दीबाट १० जना र सशस्त्र वेसबाट ३३ जना गरी जम्मा ६३ जनाको संयुक्त टोली १२ बिघामा लगाईएको गाँजाको बिरुवा फडानी गरी जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
यस अघि पनि सर्लाही प्रहरीले नारायणखोलाबाट नै पटक पटक गरी गाँजा फडानी गरी नष्ट गरेको छ । सर्लाही प्रहरीले नारायण खोलामा पहिलो पटक ८ बिघा, दोस्रो पटक ९ बिघा ,तेस्रो पटक १३ बिघा आजको चौथो पटकको १२ बिघा गरी जम्मा ४२ बिघा क्षेत्रफलमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आए लगतै प्रहरीहरू एक्सनमा आएका हुन । नारायण खोलाको विभिन्न स्थानहरूमा अवैध लागुऔषध गाँजाको बिरुवा लगाएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि प्रहरी टोली खटेर उक्त गाँजा खेती नष्ट गर्ने गरेको छ ।