
लालबन्दी,३ माघ। सर्लाहीको परवानीपुरमा स्थानीयको विरोधपछि अन्ततः बेची सकेको एम्बुलेन्स फिर्ता ल्याउन समिति बाध्य भएको छ ।
सामुदायिक स्वास्थ्य सेवा समाज नेपाल नामक संस्थाले सञ्चालन गरेको एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि झण्डै ५ वर्षअघि विक्री गरेको थियो ।
स्थानीयले चर्को विरोध गरेपछि र स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा सो सम्बन्धी समाचार प्रकाशन भएपछि गोविन्द अधिकारी नेतृत्वको एम्बुलेन्स सञ्चालक समितिले एम्बुलेन्स फिर्ता ल्याएको हो ।
के के सर्त र कुन कुन प्रतियाबाट एम्बुलेन्स फिर्ता ल्याइयो भनेर हामीले बुझ्न खोज्दा समितिका अध्यक्ष अधिकारी, १६ नम्बर वडाका वडा अध्यक्ष गणेश थापा र अन्य सम्बन्धिति मान्छेहरुले फोन उठाएनन् ।
अहिले एम्बुलेन्स फिर्ता ल्याएर प्रहरी चौकी परवानीपुरमा राखिएको बुझिएको छ । प्रहरी चौकी परवानीपुरका इन्चार्ज खिलचन्द्र कार्कीले समितिले फिर्ता ल्याएको एम्बुलेन्स अन्यत्र राख्दा असुरक्षित हुने र समितिले पनि एम्बुलेन्सका विषयमा छलफल गर्नुपर्ने भएकोले दुई चार दिन चौकीमै राखी दिन भनेकोले आफूहरुले राखेको बताए ।
हामीलाई स्थानीयले दिएको जानकारी अनुसार एम्बुलेन्स ल्याएर चौकीमा राखेको भएपनि साँचो भने १५ र १६ का वडाअध्यक्षद्वय गोरख बहादुर बल र गणेश वहादुर थापालाई हस्तान्तरण गरिएको छ ।
२०६७ सालमा भागवत लगाएर संकलन भएको पैसाले २०६८ सालमा भन्सार छुटसहित १० लाख रुपैयाँमा किनेको एम्बुलेन्स समितिले ५/६ वर्ष चलाएर चलाउन नसकेको भन्दै स्थानीय सरोज खड्कालाई ३ लाख ७५ हजारमा विक्री समितिका पदाधिकारीहरूकाे भनाइले पुष्टि गर्छ ।
खड्काले पनि चलाउन नसकेपछि ५ लाख २० हजारमा रानीगन्जका दिनेश योन्जनलाई बेचेकाे सञ्चारकर्मी संगकाे सम्बादकाे बताएका थिए ।
योन्जनले जीर्ण भएको एम्बुलेन्स थप ५ लाख ९१ हजारमा मर्मत गरेर सञ्चालन गरेको दाबी गरेका थिए ।
उनले हामीसँगको कुराकानीमा आफ्नो लागेको रकम फिर्ता दिए एम्बुलेन्स फिर्ता गर्ने यसअघि नै बताई सकेका छन् । अहिले समितिले के-कसरी एम्बुलेन्स फिर्ता लगेको हो त्यसविषयमा उनीसँग बुझ्न खोज्दा पनि उनले फोन उठाएनन् ।
जनताले एक एक मुठी अन्न र सुकाे सुकाे पैसा जम्मा गरेर किनेको एम्बुलेन्स चलाउन नसकेको बहाना गरेर विक्री गर्ने समितिको नियत ठिक नभएको स्थानीयले बताएका छन् ।
सेवाका लागि किनेको एम्बुलेन्स विक्री गरेपछि आफूहरु बोल्न र मिडिया गुहार्न बाध्य भएको उनीहरुको भनाई छ ।