११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
बाल विवाह अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल विवाह अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने

सर्लाही,२४ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बाल विवाह अन्त्य गर्न बालिका सम्मेलन गर्ने भएको छ । वडा नं ७ स्थित नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

उनका अनुसार सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागिएको हो ।

बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाको सहभागिता तथा तीनवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

‘बालविवाह र दाइजोविरुद्धका योद्धालाई सम्मान, प्रत्येक विद्यालयमा बालविवाहको अन्त्य विषयक’ वक्तृत्वकला प्रतियोगिता र उत्कृष्ट आर्ट पेन्टिङको प्रदर्शनी, पालिका र जिल्लास्तरमा बालविवाहको अन्त्यका लागि भएका सकारात्मक प्रयास, प्रगति र चुनौती एवं विकासका साझेदार, बालअधिकारकर्मी, प्रदेश सरकार तथा सङ्घीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिने पालिकाले जनाएको छ ।

मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथा विकृतिका रुपमा रहेको छ । त्यसका कारण घरेलु हिंसाका घटना अत्यधिक हुने गरेका सरोकारवाला निकायले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.