बस पल्टिएर थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाही,१७ पौष । सर्लाहीमा बस पल्टिएर थिच्दा एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गए राति बलरा नगरपालिका वडा नं. ९ छतौना स्थित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि तिब्र गतिमा रहेको बसले थिचदा मृत्यु भएको हो।
राति करिब नौ बजे बागमती प्रदेश ०१–००६ख २००४ नम्बरको बस पल्टिएर तुलाधरलाई थिच्दा उनको मृत्यु भएको थियो। बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि तुलाधरमाथि बजारिँदा घटना भएको हो।
बसले थिचेर गम्भीर घाइते भएका उनलाई डोजरको सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ । ४२ वर्षीय तुलाधरको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
मृतक तुलाधारको स्थायी वासस्थान काठमाडौँ महानगरपालिकामा रहेको छ। तुलाधरको शवलाई आजै काठमाडौँ पु¥याउने तयारी छ। ड्युटी सकेर क्याम्प फर्किने तयारीमा रहेको बेला इन्सपेक्टर तुलाधारलाई क्याम्प अगाडि नै बसले किचेको सोही क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान प्रिन्स शर्माले जानकारी दिए। बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेकोे छ ।