हरिवनमा टोपी दिवस मनाइयो
सर्लाही,१७ पौष । सर्लाहीको हरिवनमा १२औं टोपी दिवस मनाईएको छ । हरिवन नगरपालिका वार्ड नम्बर ११ को कार्यालयले एक समारोह गरि दिवस मनाएको वार्ड सचिब कृष्ण शर्माले जानकारी दिए ।नियमित रुपमा ढाका टोपी लगाउने वार्ड अध्यक्ष शेख मेहबुब रेजाले हरेक बर्ष टोपी दिवस आयोजना गर्ने गरेका छ्न ।
कार्यक्रममा बोल्दै उनले आफुले आफ्ना बुवाको प्रेरणाबाट ढाका टोपी लगाएको र टोपी लगाउदा गौरब अनुभव हुने बताए ।कार्यक्रममा नगर प्रमुख रमेश कुमार बुढाथोकी, उपप्रमुख हरिमाया घलान, राजनीतिक अगुवाहरु डाकुरनाथ खतिवडा, चूडामणि वाग्ले, सीताराम पोखरेल, अर्जुन पन्त, तारा बिश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।
बक्ताहरुले वार्ड अध्यक्ष शेष मेहबुब रेजाको टोपी प्रेमको प्रसंशा गरेका थिए । टोपी प्रतिको सम्मान र पहरेदारीको निरन्तरताको लागि पनि बक्ताहरुले आग्रह गरे ।कार्यक्रममा सबै सहभागीलाई टोपी लगाएर स्वागत गरिएको वार्ड सदस्य युग बहादुर अधिकारीले बताए ।हरेक बर्ष अग्रेजी नयाँ बर्षको दिन टोपी दिवस मनाईन्छ । यो दिवस नागरिक क्षेत्रबाट १२ बर्ष पहिलेदेखि मनाउन सुरु गरिएको हो ।