वृन्दावन नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता – २०८१ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

प्रदीप दास, रौतहट ।
फाल्गुन १५ गते, बिहीबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आयोजित आठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता – २०८१ भव्य समारोहका साथ उद्घाटन गरिएको छ। वृन्दावन नगरपालिका वडा नम्बर ७ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य सांस्कृतिक कार्यक्रमबीच उद्घाटन समारोह सम्पन्न भएको हो।
प्रतियोगिताको प्रमुख अतिथि नगर प्रमुख विनोद प्रसाद कुर्मी रहनुभएको थियो भने विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल र उप प्रमुख संगीता राम विशेष रूपमा उपस्थित हुनुभएको थियो। उद्घाटन समारोहमा वृन्दावन नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सहभागी अन्य विशिष्ट अतिथिहरूमा वडा नम्बर १ का वडाध्यक्ष राम नाथ सहनी, वडा नम्बर ५ का वडाध्यक्ष फेकु दास तत्मा, वडा नम्बर ६ का वडाध्यक्ष मजहर मन्सुर, वडा नम्बर ७ का वडाध्यक्ष जगनाथ प्रसाद पाल ( मदन पाल ), वडा नम्बर ८ का वडाध्यक्ष रवीन्द्र प्रसाद साह (उपेन्द्र प्रसाद साह), वडा नम्बर ९ का वडाध्यक्ष प्रवेज आलम रहनुभएको थियो। साथै, कार्यपालिका सदस्य राजेश पासवान ( निर्मानी), विभिन्न वडाका वडा सदस्यहरू, स्थानीय नेताकार्यकर्ताहरू, विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद सिंह सहित शिक्षक-शिक्षिका, अभिभावक तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले वृन्दावन नगरपालिकाभरिका माध्यमिक, आधारभूत र प्रथिमक तहका विद्यालयहरूमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्न विशेष योजना ल्याउने घोषणा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्न तथा उनीहरूको शारीरिक र मानसिक विकासलाई टेवा पुर्याउन नगरपालिका स्तरबाट विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो। सोही अनुरूप, नगरपालिकाले विद्यालय खेलकुद प्रतियोगिताका लागि १ लाख, ५० हजार र २५ हजार रुपैयाँका दरले बजेट छुट्याउने योजना बनाएको जानकारी गराउनुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले वृन्दावन नगरपालिकालाई खेलकुद क्षेत्रमा अगाडि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा खेलकुद गतिविधिहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सकिने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो।
प्रतियोगितामा वृन्दावन नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, मार्च पास्ट तथा खेलाडीहरूको परिचय कार्यक्रम आयोजना गरिएको थियो। विद्यार्थीहरूले खेलकुदलाई शारीरिक स्वास्थ्य, अनुशासन तथा आत्मविश्वास अभिवृद्धिको उत्कृष्ट माध्यमका रूपमा लिएको बताउँदै यस्ता प्रतियोगिताहरूले उनीहरूको प्रतिभा प्रस्फुटन गराउने धारणा राखेका थिए।
वृन्दावन नगरपालिकाले खेलकुदलाई विद्यालय स्तरमै बलियो बनाउन प्रतिबद्धता जनाउँदै आएको छ। नगर प्रमुख कुर्मीले खेलाडीहरूको भविष्य सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण, खेल सामग्री उपलब्ध गराउने तथा प्रशिक्षक व्यवस्थापनमा समेत ध्यान दिने बताउनुभयो। उहाँका अनुसार, आगामी दिनहरूमा वृन्दावन नगरपालिकामा ठूला खेल प्रतियोगिताहरू आयोजना गर्दै स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर उपलब्ध गराइनेछ।