
सर्लाही, २०८२ कार्तिक ३० । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२ धर्मपुर टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जना युवक गम्भीर घाइते भएका छन्। बिहान १०:४० बजे बयलबासबाट मलंगवातर्फ आउँदै गरेको ना ४१ प ३३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बयलबास, ईश्वरपुर–७ निवासी अन्दाजी २० वर्षका उमर मिकरानी गम्भीर घाइते भएका छन्।
उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका कारण अवस्था मध्यम रहेको बताइएको छ। घटना भए लगत्तै उनलाई अमृत हेल्थ केयर बयलबासमा प्रारम्भिक उपचार गरीएको हो । यस्तै मोटरसाइकल चालक तथा घाइतेका दाजु होजईफा मिकरानी अन्दाजी वर्ष २५ का उनि पनि घटनामा संलग्न थिए र उनी समेत उपचारमा सहयोग गरिरहेका छन्।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ब्रम्हपुरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी सहायक निरीक्षक जितु साहा को कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटना भएको स्थान ब्रम्हपुरी प्रहरी चौकीबाट करिब (१.५ ) साढे एक किलोमिटर उत्तर मा पर्ने बताइएको छ।

घाइते उमर मिकरानीलाई थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा अल्टिच्युड एयरको हेलिकोप्टर आज दिउँसो सबा ३ बजे ईश्वरपुर–६ स्थित नारायण माविको प्राङ्गणमा अवतरण गरेको थियो । दिउँसो पौने ४ बजे हेलिकोप्टर घाइतेलाई लिएर काठमाडौँको लागि उडेको प्रहरीले जनाएको छ ।



