बंगलादेश जस्तै नेपालका जेनजी हत्यारालाई केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ : विकेश साह

काठमाडौं, ८ मंसिर । जेनजी विद्रोहको जगमा अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीला कार्कीले उही जेनजी आन्दोलनकारीलाई भेटन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री कार्यालयमा आफ्ना मागहरु सहितको पत्र बुझाउन सोमबार जेनजी आन्दोलनकारीहरु सिंहदरबार पुगेका थिए । तर प्रधानमन्त्री कार्कीले भेटनै मानिन । प्रधानमन्त्रीले भेटन नमानेपछि उनीहरुले आफ्नो माग पत्र दक्षिण गेटमा टाँसेर फर्किएका छन् ।
जेनजी विद्रोहका अगुवाहरु विकेश साह, मिराज ढुंगाना, रविकिरण हमाल, सौरभ भण्डारी, मणी लिम्बु, सुनिलप्रसाद साह, राजा सल्यानी, सुस्मा श्रेष्ठ, प्रभात अधिकारी, रंजित ठाकुर, मदन लिम्बु, सुनिल सिंह लगायतका युवाहरु सिंहदरबार पुगेका थिए ।
‘यो व्यवस्था र संविधानले निकास दिन सक्दैन । त्यसैले हामीले अहिलेको संविधान र सरकार खारेज गरी अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्नुपर्छ भन्ने स्पष्ट माग हो । यो सरकार विकास र निकास दुबैमा असफल भइसकेको छ । अब निकास दिन आवश्यक छ । त्यसका लागि यो व्यवस्था खारेज गरेर अगाडी बढनुको विकल्प छैन्,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल कानूनी कठघरामा उभ्याउनुपर्ने माग समेत उनले गरेका छन् । ‘बंगलादेशमा जसरी हत्यारालाई मृत्युदण्ड नै दिईएको छ, कारबाही गरिएको छ, त्यसरी नै हामीले केपी ओलीलाई कानूनी कठघरामा ल्याउनुपर्छ । कानूनबमोजिम कारबाही गर्नुपर्छ । यदि कारबाही गर्न सकिएन भने हामी उद्देश्यविहीन हुन्छौं,’ साहले भने ।
यस्तै जेनजी हत्यारा र भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा वर्तमान सरकार असफल रहेको हामीहरुको बुझाइ रहेको उनले बताए । भ्रष्टाचारीहरु, जेनजी हत्याराहरु अहिले खुलेयाम घुमिरहदा समेत सुशीला सरकारले किन अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न अध्यक्ष साहले गरेका छन् ।
२०८४ सालमा हुने निर्वाचन २०८२ सालमा गराउनका लागि जेनजी बिद्रोह नभएको बताउदै अध्यक्ष साहले सबैभन्दा पहिला जेनजी हत्यारा र भ्रष्टाचारीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनले बताए ।
जेन–जीका विभिन्न २१ समूहले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसक्ने र घाइते तथा शहीदको सपना साकार पार्न सम्भव नभएको निष्कर्ष निकालेको उनले बताए । उनीहरूले माग पूरा गर्न ७ दिनको अल्टिमेटम दिँदै बेवास्ता गरे कार्की सरकार गठनमा आफूले गरेका गल्तीको माफी माग्दै पुनः संघर्षमा जाने चेतावनी दिएका छन् । विद्रोहमा होमिएका युवाविरुद्ध वर्तमान सरकारले नै षडयन्त्र गरिरहेको भन्दै उनीहरुले विभिन्न माग गरेका छन् ।
यस्ता छन् उनीहरूका माग
१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर ।
२. स्थिर सरकारका लागी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर ।
३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर ।
४. जेन – जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर ।
५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर ।
६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।
२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर ।
७. जेन–जी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर ।
८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुरÞ्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर ।
९. यी कुराहरु संबिधान पुनरावलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संबिधान सुधार गरी मात्र अर्थपूर्ण चुनाव तर्फ लाग ।



