१० मंसिर २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विकेश र मिराज सहितका जेनजीलाई सिंहदरबार प्रवेशमा निषेध गरिएपछि कालोपटी बाँधेर प्रदर्शन – Nigrani Today
ताजा खबर

विकेश र मिराज सहितका जेनजीलाई सिंहदरबार प्रवेशमा निषेध गरिएपछि कालोपटी बाँधेर प्रदर्शन

काठमाडौं, ८ मंसिर ।सिंहदरबार अगाडी आन्दोलनकारी जेनजी युवा र प्रहरीबीच धरपकड र धकेलाधकेली भएको छ । जेनजी युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन सिंहदबार प्रवेश गर्न खोज्दा उनीहरुलाई प्रहरीले रोकेको थियो ।

विकेश साह, मिराज ढुंगाना सहितका दर्जनौ युवाहरुलाई आज (मंगलबार) सिंहदबार प्रवेशमा रोक लगाइएको छ । मिराज ढुंगाना, विकेश साह नेतृत्वको विभिन्न जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारमा पुग्दा सिंहदरबार भित्र प्रवेश गर्न दिएन ।

सिंहदरबार प्रवेशमा रोक लगाएपछि उनीहरु सिंहदरबारकै गेटमा नाराबाजी गर्न थालेपछि प्रहरीले बिजुली बजारको पुल कटाएको थियो । उनीहरु फेरी नाराबाजी गर्दै सिंहदरबार प्रवेश गर्न खोजे, अनामनगर, हनुमानस्थान, बिजुलीबजार, सिंहदरबार क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेली भयो ।

घण्टौंसम्म यो क्रम जारी नै रहेपछि उनीहरुले कालोपटी बाधेर जेनजी हत्यारा पूर्वप्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही गर्न माग गरेका छन् । साथै भ्रष्टाचारीलाई कारवाही गर्न समेत माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री सुशीलाबिरुद्ध नाराबाजी गर्दै विदेशीको इसारामा सरकार चलेकाले जेनजी युवाको माग सम्बोधन गर्न नचाहेको आरोप समेत लगाए ।

‘हामी शान्तिपूर्ण रुपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको हो । तर हामीलाई सिंहदरबारमा प्रवेश गर्न दिएनन । हामीले भन्दै आएका छौं की जेनजी युवाका हत्यारा केपी ओली, रमेश लेखक सहित भ्रष्टाचारीलाई कारबाही गर । तर यो सरकार विदेशीको इसारामा चलेकाले हामीसंग भेटनै चाहदै, जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नै चाहदैन,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।

यदी सुशीला कार्कीले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैन भने तुरुन्त पदबाट राजीनामा दिनुपर्ने माग समेत साहले गरेका छन् । उनले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, जेनजीका माग सम्बोधन गर्नुपर्ने, अहिलेको व्यवस्था र संविधानले निकास दिन नसक्ने भएकाले अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्दै निकास दिनुपर्नै माग साहले गरेका छन् ।

यस्तै ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ समूहले यो सरकार निष्पक्षरुपमा काम नगरेकाले तुरुन्त राजीनामा गरेर निकास दिनुपर्ने जनाएको छ । ‘वर्तमान सरकारले जेनजीका माग सम्बोधन गर्न चाहदैन, जेनजीसंग भेटन चाहदैन, हामीमाथि दमन गर्छ भने यो जेनजीको सरकार हो भनेर कसरी बुझ्ने ? विधि, प्रक्रिया, व्यवस्थाका लागि हामी आन्दोलन गरेको हो । भ्रष्टाचारी र जेनजी हत्यारालाई तुरुन्त कारवाही गर्नुपर्ने यदी कारबाही गर्न नसके प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,’ ढुंगानाले भने ।

शाह, ढुंगाना सहितका जेजनी युवाहरुको टोली सोमबार पनि सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर प्रवेश नपाएपछि उनीहरू बाहिरै गेटमा मागपत्र टाँसेर फर्किएको थियो । आफूहरुको माग सम्बोधन नभए आन्दोलन संघर्ष जारी नै राख्ने उनीहरुले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button