सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२, राईटरखोरस्थित सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको विभत्स हत्या भएको छ। शनिबार साँझ ४७ वर्षीय चौकीदार रामईश्वर महतोको टाउको छिनिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान जङ्गलभित्र अवैध रूपमा रुख काटिएको आवाज सुनेपछि चौकीदार महतो सोही दिशातर्फ गएका थिए। तर दिउँसोसम्म पनि उनी घर नफर्किएपछि र मोबाइल फोन सम्पर्कसमेत हुन नसकेपछि परिवार तथा स्थानीयवासीले खोजी सुरु गरेका थिए।खोजीका क्रममा सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्गलभित्र उनको टाउको छिनिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल अत्यन्तै भयावह रहेको र हत्या क्रूर तरिकाले गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए।प्रवक्ता राईका अनुसार घटनाको प्रकृति गम्भीर तथा शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि प्रदेश प्रहरीको सहयोग लिइएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले घटनास्थलमा स्पेसल कुकुर परिचालन गरी प्रमाण संकलन तथा अपराधी पहिचानको काम तीव्र पारिएको बताए।हत्या गरिएका चौकीदार रामईश्वर महतो ईश्वरपुर नगरपालिका–२ का स्थायी बासिन्दा रहेको र लामो समयदेखि सागरनाथ वन परियोजनामा चौकीदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। हाल घटनास्थल सुरक्षित गरी आवश्यक प्रमाण संकलन भइरहेको र दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइने सर्लाही प्रहरीले स्पष्ट पारेको छ।यस घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने वन क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ।



