‘नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ’ : प्रभु साह

बर्दिया, २२ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको भन्दै देशभक्त र अग्रगामी शक्तिहरुबीचको एकताको आवश्यकता औंल्याएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोहको मर्म र भावनाअनुसार देशमा कुनैपनि किसिमको परिवर्तनको आभाष नभएको र उल्टै देशलाई संकटको भूमरीमा हाल्ने काम भएको भन्दै साहले देशभक्त र देशमा बदलाव चाहने शक्तिहरुबीचको एकता आवश्यक रहेको बताएका हुन् ।
आज (मंगलबार) बर्दियाको बाँसगढीमा आजपाले आयोजना गरेको बर्दिया क्षेत्र नं. १ को बृहत्त क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको अपहरणकारी सुशीला कार्की–बालेन शाह–कुलमान घिसिङहरु र जेन–जी आन्दोलनमा दमन गर्ने केपी ओली र रमेश लेखकहरुको कारण मुलुक श्रृंखलावद्ध अनिश्चयको सुरूङमा फसेको टिप्पणी गरे ।
आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनपछि देशमा वैदेशिक हस्तक्षेपसमेत बढ्दो रहेको पनि टिप्पणी गरे । उनले मुलुकलाई संकटबाट निकाल्नको लागि पनि तोकिएकै मितिमा चुनाव गराउनुको विकल्प नभएको बताए । तर, वर्तमान सरकारले चुनाव गराउनेगरि गम्भीर पहलकदमी नलिएको उनको आरोप छ ।
जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारको यकिन तथ्यांक अहिलेसम्म गृह प्रशासनले सार्वजनिक नगरेको र कैदीबन्दीहरूसमेत फिर्ता ल्याउन नसकेको भन्दै उनले सुरक्षाको उचित प्रवन्ध गर्न सरकारलाई अनुरोध गरे ।
उनले नयाँ र विकल्प दिन्छु भनेकाहरु पनि पद र पावरको लागि लुछाचुँडीमा रमाउने काम गरेको भन्दै आलोचना गरे । साहले नयाँ भनिएका नाईकेहरु पनि कोही अनाडी (केही पनि नजानेको), कोही भ्रष्ट र कोही ठग भनेर निस्किएको आरोप लगाए । उनीहरु सांसद, मन्त्री र प्रधानमन्त्रीको लागि मात्रै राजनीतिमा लागेको भन्दै उनीहरूबाट देशले पार नपाउने साहको टिप्पणी छ ।
उनले जेनजी आन्दोलनको नाममा सत्तारोहण गरेका कुलमान घिसिङहरु दलको नेता भइसकेकोले अब पदमा बस्ने नैतिक अधिकार नभएको पनि बताए । तत्काल चरम राजनीतिमा होमिएका कुलमान घिसिङलगायतलाई बर्खास्त गर्न पनि उनले प्रधानमन्त्रीसमक्ष माग गरे । मुलुक यतिवेला सरकारविहीनको अवस्थामा रहेको भन्दै अहिलेका मन्त्रीहरु मुलुकमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न असफल भएको उनको आरोप छ ।
संविधानमा भएको त्रुटिको कारण देशको व्यवस्था खराब भएको र जनताको अवस्थामा कुनै परिवर्तन नआएको साहको दाबी छ । आजपा अध्यक्ष साहले भने,‘खराब व्यवस्था भएपछि देशको अवस्था कसरी राम्रो हुन्छ ? मैले त संविधान बनाउने बेलामा पनि यो संविधानले निकास दिँदैन भनेर विद्रोह गरेको थिएँ, आज मुलुकमा जे अस्थिरताको खेल भइरहेको छ, त्यो यही खराब संविधानको उपज हो । यसलाई खारेज गर्नुको विकल्प छैन।’
सो क्रममा उनले बर्दिया सम्भावनाले भरिएको जिल्ला भएकोले यसको विकासको लागि पनि थारुको छोरा नेतृत्वमा पुग्नुपर्ने आवश्यकता औंल्याए । बर्दियाको पर्यटनको विकासको लागि राज्यले उपेक्षा गरेको भन्दै साहले आलोचना गरे ।
नयाँ भनिएका र विकल्प दिन्छु भनेकाहरुले नै अहिले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पद बाँड्दै हिँडेको भन्दै यस्तो नक्कली कुरा र कोरा सपना जनतामाँझ नबाँड्नको लागि पनि साहले चेतावनी दिए । चुनावमा जनमत ल्याएर सरकार बनाउनुको साटो अहिले नै जनतालाई झुक्याउनको लागि नयाँ भनिएकाहरुले नक्कली कुरा गरेको र झुटको खेती गरिरहेको साहको आरोप छ ।
रास्वपामा समाहित भएका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाईएको र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्री भन्दै बजेट लेख्न थाल्न भनेर रवि लामिछानेले निर्देशन दिएको विषयमा पूर्वमन्त्री साहको यस्तो टिप्पणी आएको हो ।
कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष एलिजा गौतम, संगठन बिभाग प्रमुख त्रिभुवन साह, लुम्बिनी प्रदेश अध्यक्ष बिजय यादव लगायत नेताहरूको बिशेष सहभागिता रहेको थियो ।



