नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीसंग आजपाले पार्टी एकीकरण गर्यो

जनकपुरधाम, २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको छ । रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौं नेतालाई आजपाले पार्टी प्रवेश गराएको छ ।
धनुषाको महेन्द्रनगरमा आजप आजपाले धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रिय भेला गरेको थियो । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित्त पीडÞितलाई न्याय दिलाउने’ संकल्प धनुषाको महेन्द्रनगर आयोजित क्षेत्रिय भेलासम्पन्न गर्दै आजपाले महतो नेतृत्वको नेपाल सदभावना पार्टीसंग पार्टी एकीकरणको घोषणा गरिएको छ ।
सोही भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी रामजिवन महतोले पनि आजपामा प्रवेश गरेका छन् । महतो पर्यावरण शहिद स्वर्गीय दिलिप महतोका वुवा हुन् । सोही कार्यक्रमका बीच विभिन्न पार्टीमा आबद्ध सयौं नेता, युवा, समाजसेवीहरुले समेत आजपामा प्रवेश गरेका छन् । धनुषाका बिभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरु समेत आजपामा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
नेसपासंग पार्टी एकता गर्नुभन्दा अघि मंगलबार बिहान वीरगंजमा आजपाले ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकीकरण गरेको छ । पार्टी एकतासंगै नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसंग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरु स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन् । आजपामा पार्टी प्रवेश गर्ने एवं पार्टी एकीकरण गर्दै संयुक्तरुपमा अगाडी बढने सहमतीले पार्टी थप बलियो बन्दै गइरहेको साहले जनाएका छन् । पार्टी एकतासंगै पार्टीमा प्रवेश गर्ने नवप्रवेशीलाई उचित जिम्मेवारी दिदै मुलुक र जनताको हितमा शसक्त काम गर्दै अगाडी बढने उनले बताए ।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमती एवं गठबन्धन गरेको छ । पछिल्लो समय विभिन्न पार्टीले आजपासंग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरु प्रवेश गर्ने लहर चलेको छ ।



