
सर्लाही, १२ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेशले सिङ्गै देशलाई गुण लगाएको भन्दै मधेशको योगदानलाई राज्यले अझैसम्म उचित सम्मान दिन नसकेको बताउनुभएको छ।
सोमबार सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति पार्टी कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले “आफूभित्र मधेश र मधेशभित्र आफू राख्दिनँ तबसम्म म नेपाली हुँ भनेर गर्व गर्दिनँ” भन्दै मधेशप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको स्पष्ट पार्नुभयो। यही विश्वासका साथ आफू मधेश झरेको उहाँको भनाइ थियो।
नेपालका हरेक आन्दोलनमा मधेशका जनताले जीवन उत्सर्ग गरेको उल्लेख गर्दै उहाँले यति ठूलो योगदान हुँदाहुँदै पनि मधेशले अपेक्षित सम्मान र अधिकार नपाएको गुनासो गर्नुभयो। यति धेरै सम्भावना हुँदाहुँदै पनि मधेशका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनु दुःखद विषय भएको भन्दै यसको कारण आफूले गहिरो रूपमा बुझेको बताउनुभयो।
थापाले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै भन्नुभयो, “मेरो बुवालाई मधेशस्थित सप्तरीका शिक्षकहरूले गणित र विज्ञान पढाएर इन्जिनियर बनाएका थिए, तर अहिले मधेशका विद्यार्थीहरू गणित र विज्ञानमा कमजोर बन्दै जानु चिन्ताको विषय हो।”
अब मधेशका मुद्दा लिएर मधेशको प्रतिनिधित्व गर्न चाहेको उल्लेख गर्दै उहाँले विगत दुई दिनदेखि स्वास्थ्य, कृषि र सिँचाइका टिमहरू सर्लाही क्षेत्र नम्बर ४ मा खटिएर अध्ययन तथा भ्रमण गरिरहेको जानकारी दिनुभयो।
आफू तीन पटक सांसद भइसकेको र चौथो पटक सांसद बन्ने तयारीमा रहेको बताउँदै थापाले अब आफू सर्लाही क्षेत्र नम्बर ४ का जनताको भएको दाबी गर्नुभयो। सांसदको जिम्मेवारी पाएपछि आफ्नो कार्यालय सर्लाहीमै रहने र यहाँका नागरिकहरूलाई काठमाडौं धाउन नपर्ने व्यवस्था गर्ने उहाँको प्रतिबद्धता थियो। साथै, आफू सांसद बनेपछि यहाँका नागरिकको टाउको कहिल्यै निहुरन नदिने दाबी पनि गर्नुभयो।
सभापति थापालाई नेता तथा कार्यकर्ताले सर्लाही–रौतहट सीमामा स्वागत गरेका थिए। थापा सर्लाहीको मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा दर्शनपछि हजरिया हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा प्रवेश गर्नुभएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू यतिबेला चुनावी प्रचारमा सक्रिय छन्। निर्वाचनको चर्चा विशेषगरी झापा क्षेत्र नम्बर ५ र सर्लाही क्षेत्र नम्बर ४ मा बढी देखिएको छ। झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) बीचको प्रतिस्पर्धा चर्चामा रहेको छ भने सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
सर्लाही ४ डा. अमरेश कुमार सिंहको परम्परागत क्षेत्र मानिन्छ। उहाँले २०७४ मा जसपाबाट उम्मेदवार बनेका राकेश मिश्रलाई हराएर तथा २०७९ मा कांग्रेसका नागेन्द्र कुमारलाई पराजित गर्दै सांसद बन्नुभएको थियो। यसपटक भने परिस्थिति फरक रहेको भन्दै स्थानीय विश्लेषकहरूले अमरेशलाई गगन थापाका मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छन्। उनीहरूका अनुसार यसपटक डा. सिंहका लागि चुनाव जित्नु चुनौतीपूर्ण हुने देखिएको छ।



