२९ माघ २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पवन र रमिताले गरे दाइजोमुक्त विवाह – Nigrani Today
ताजा खबर

पवन र रमिताले गरे दाइजोमुक्त विवाह

सर्लाही – सर्लाहीमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । धनकौल गाउँपालिका – १, धोबिनिया निवासी स्वर्गीय रामचन्द्र कुशवाहाका छोरा पवन कुमार कुशवाहा र गोडैता नगरपालिका – ११, सिसौटिया निवासी मनोज कुमार कुशवाहाकी छोरी कुमारी रमिता कुशवाहाबिँच दाइजोमुक्त बिबाह सम्पन्न भएको हो।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत सोमबार आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह कुनै किसिमको आर्थिक लेनदेनबिना आपसी समझदारी, प्रेम र सम्मानका आधारमा सम्पन्न गरिएको परिवार स्रोतले जनाएको छ ।

बिबाहमा मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोसमेत उपस्थित थिए। यस्तै, सर्लाहीका चर्चित नेता शिब पुजन रायलगायतको पनि उपस्थिति रहेको थियो।

दाइजो प्रथा कानुनी रूपमा प्रतिबन्धित भए पनि तराई–मधेश क्षेत्रमा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । यस्तो अवस्थामा पवन र रमिताले दाइजोमुक्त विवाह गरेर समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन् । विवाहलाई लेनदेनको माध्यम नभई दुई परिवार र दुई व्यक्तिबीचको आत्मीय सम्बन्धका रूपमा स्थापित गर्ने उनीहरूको पहललाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् ।

दाइजोका कारण छोरी पक्षले भोग्नुपर्ने आर्थिक बोझ, सामाजिक दबाब र मानसिक तनावजस्ता समस्यालाई अन्त्य गर्न दाइजोमुक्त विवाह प्रभावकारी कदम मानिन्छ । शिक्षित र सचेत युवापुस्ताले यस्ता उदाहरण प्रस्तुत गर्नु सामाजिक रूपान्तरणतर्फ महत्वपूर्ण संकेत भएको सरोकारवालाहरू बताउँछन् ।

दाइजोमुक्त विवाहजस्ता अभ्यासले समाजमा विद्यमान कुरीतिविरुद्ध चेतना फैलाउनुका साथै समानतामूलक सोच विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । पवन कुमार कुशवाहा र रमिता कुशवाहाको वैवाहिक जीवन सफल, सुखद र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गर्दै स्थानीय समुदायले यस कदमलाई प्रेरणादायी कार्यका रूपमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button