रूपन्देही-२ मा कांग्रेसका वडा स्तरीय प्रचारप्रसार कार्यालय उद्घाटन तिब्र
बदलिएको कांग्रेसले चुनाव पुर्व हुने गठवन्धन संस्कृतिको अन्त्य गरेको भनाइ

बुटवल,२८ माघ । रूपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेलले नेपाली कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकलाई समृद्धिकाे मार्गमा लैजान सक्ने बताएका छन् ।
२००७ सालयता मुलुकमा संकट पर्दा कांग्रेसलेनै निकास दिँदै आएको स्मरण गर्दै उनलेे अहिले मुलुकमा देखापरेको संकट समाधान पनि कांग्रेस नेतृत्वको सरकारले गर्ने विश्वास ब्यक्त गरे ।
बुधबार बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा पार्टीको वडा स्तरीय चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा उम्मेदवार पाैडेलले जेनजी युवाहरूकाे मर्म र भावना अनुसार मुलुकलाई अगाडि बढाउन पनि कांग्रेस नेतृत्वको सरकार बन्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले जेनजी आन्दोलनपछि कांग्रेसले आफुलाई बदलेकाे भन्दै बदलिएको कांग्रेसले आम नेपाली जनताको अवस्था पनि बदल्ने बताए ।
नेपाली कांग्रेस रूपन्देही-२ का क्षेत्रीय सभापति प्रजापाल गिरीले जेनजी बिद्रोह पश्चात् कांग्रेस बदलिएको भन्दै बदलिएको कांग्रेसले देशको अवस्था बदल्ने संकल्पका साथ चुनावमा हाेमिएकाे बताए । जेनजी युवाको मर्म र भावनाअनुसार कांग्रेसले आफूलाई रूपान्तरण गरेको भन्दै उनलेे चुनाव पुर्व हुने गठवन्धन संस्कृतिको अन्त्य गरेर बदलिएको कांग्रेसको संकेत दिएको उल्लेख गरे ।
बिचार र सिद्धान्त नभएर अहिले प्राेपाेगाण्डा र निराशा बिक्री गरेर भ्रममा बाच्न सिकाउने कार्य भइरहेको छ भन्दै सभापति गिरीले प्राेपाेगान्डा र निराशाकाे ब्यापारबाट उत्पन्न भ्रमलाई चिरेर आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्नेमा जाेड दिए ।
निराशा र प्राेपाेगान्डा बिक्री गरेर आफ्नो राेटी सेक्नेहरूले समाजमा पारेको भ्रम चिरेर भराेसाकाे राजनीति स्थापित गर्न अहिलेकाे निर्वाचन महत्त्वपूर्ण भएको भन्दै उनलेे कांग्रेस नेतृत्वको सरकार बनेपछि के के गर्ने भन्ने दैनिक क्यालेन्डर सहितको स्पष्ट योजनाकासाथ कांग्रेस चुनावमा हाेमिएकाे बताए ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं १२ का वडा सभापति धर्मराज शर्माकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेदवार रीता सेन वली,नेपाली कांग्रेसका युवा नेता युवराज गिरी, नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य उदयराज काफ्ले,नगर उपसभापति ज्याेती भण्डारी,क्षेत्रीय प्रतिनिधि मिना जिसी, वडा समिति सदस्य सदस्य टिकाराम भट्टराई, तिर्थराज काफ्लेलगायतले राजनीति उमेरकाे हिसाबले नयाँ र पुरानो भन्ने नभई विचार,नीति र सिद्धान्तकाे आधारमा नयाँ हुने भन्दै नयाँका नाममा फैलाइएका भ्रमलाई चिरेर आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सबै लाग्नुपर्नेमा जाेड दिए ।
यसैबीच आजै बुटवल उपमहानगरपालिका वडा नं ९ काे चुनाव प्रचारप्रसार कार्यालय पनि उद्घाटन भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ९ को तिनकुनेमा सञ्चालन भएको कार्यालयकाे एक कार्यक्रमकाबीच रूपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पाैडेलले उद्घाटन गरेका हुन् ।



