देशैभरीमा पहिलोपटक लालबन्दी–३ मर्यादित महिनावारी मैत्री वडा घोषणा हुँदै

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ लाई “मर्यादित महिनावारी मैत्री वडा” घोषणा गर्ने तयारी गरिएको छ। बाल संरक्षण संस्था (CPO) को आयोजना, राधा पौडेल फाउण्डेशन (RPF) तथा वडा नं. ३ को समन्वयमा वैशाख ११ गते देशैभरीमा पहिलोपटक लालबन्दी–३ मर्यादित महिनावारी मैत्री वडा घोषणा हुने भएको छ।
नेपालमा मर्यादित महिनावारीमार्फत सामाजिक रूपान्तरण, मानव अधिकारको सुनिश्चितता तथा दिगो विकासको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममार्फत महिनावारीसँग जोडिएका देखिने तथा नदेखिने विभेद अन्त्य गर्दै सामाजिक न्याय र लैंगिक समानताको सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।

नेपालका विभिन्न समुदायमा अझै पनि महिनावारीका कारण महिलाहरू र किशोरीहरू भान्सा, सामाजिक गतिविधि तथा निर्णय प्रक्रियाबाट वञ्चित हुने अवस्था रहेको छ। यस्ता अभ्यासले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र सामाजिक सम्मानमा समेत नकारात्मक प्रभाव पार्दै आएको सन्दर्भमा यो अभियान सुरु गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
दुई वर्षदेखि सञ्चालन हुँदै आएको यस परियोजनाअन्तर्गत वडा नं. ३, ९ र १० मा मर्यादित महिनावारीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) सँग जोड्दै लैंगिक हिंसा, सामाजिक मान्यता र संरचनागत विभेदविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
अभियानअन्तर्गत संस्थागत सुदृढीकरण, नीति निर्माण, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार, समावेशी कार्यक्रम सञ्चालन तथा वातावरणमैत्री महिनावारी सामग्री प्रयोग प्रवर्द्धन गरिँदै आएको छ।
लालबन्दी नगरपालिकाका स्वास्थ्यकर्मी रौशन चौधरीले प्रत्येक युवती तथा महिलाहरूलाई प्याड कसरी बनाउने तथा कसरी डिस्पोज गर्ने बारे सिकाउन जरुरी रहेको बताए ।

विद्यालय, महिला समूह, युवा क्लब र स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमा व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गरिएका छन्।
मर्यादित महिनावारीलाई केवल व्यक्तिगत विषय नभई मानव अधिकार, लैंगिक समानता र सामाजिक न्यायसँग जोडिएको संरचनागत मुद्दाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
मधेस प्रदेश सभा सदस्य बेच्ची लुङेलीले अन्य वडामा समेत यस्ता कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमलाई समानता, मर्यादा र अधिकारमा आधारित समाज निर्माणतर्फ महत्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ।
“मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न गरिने जनाइएको छ।



