
स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्र्न उद्देश्यले सर्लाही जिल्लाको हरिपूर्बा नगरपालिकामा आज पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ ।
हरिपूर्बा नगरपालिका स्तरीय बाल क्लब संजालका अध्यक्ष राजेश कुमार पण्डितको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा हरिपूर्बा नगरपालिकाका उपप्रमुख सुमित्रा देवी ग्वारिन प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
हरिपूर्बा नगरपालिका, साझेदार संस्थाहरु बागमती सेवा समाज नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आयोजनामा संचालन गरिएको उक्त बाल भेलामा बालबालिकाका सवालहरु पहिचान गरी प्राथमिकीकरण गरिएको थियो । उक्त कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि तथा उपप्रमुख सुमित्रादेवीले बालबालिकाको समग्र बिकासका लागि नगरपालिकाले पहल गरिरहेको र बालबालिकाका आवाज सुन्ने मात्र नभई प्राथमिकता दिइएको बताउनुभयो ।

बालबालिकाका सवालहरूलाई स्थानीय तहको बजेट तथा कार्यक्रममा समावेश गर्न प्रक्रियागत रुपमा बालबालिका लक्षित योजना पेश गर्ने महत्वपूर्ण खुड्किलोको रुपमा बाल भेला आयोजना गरिएको बताइएको छ । यस अघि हरिपूर्बा नगरपालिकाका ९ वटै वडामा वडास्तरीय बाल भेला सम्पन्न गरी बालबालिकाका सवालहरु प्राथमिकीकरण गरिएको र अन्तिम चरणमा नगरपालिका स्तरमा बाल भेला आयोजना गरिएको जानकारी बागमती सेवा समाज नेपालका कार्यक्रम र्सयोजक कुमार भण्डारीले दिनुभयो ।
वहाँका अनुसार हरिपूर्बा नगरपालिका भित्रका बालबालिकाहरुको सहभागितामा आयोजना गरिएको बालभेलाबाट उनीहरुको अर्थपूर्ण बालसहभागिता तथा बालबालिकाको आवाजलाई स्थानीय सरकारमार्फत सुनिश्चितताका लागि बालबालिकाहरु स्वयंले पहल गर्ने एउटा महत्वपूर्ण माध्यमको रुपमा बालभेलालाई लिइएको छ । आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्दा बालभेलाबाट प्राथमिकीकरण गरिएका सवालहरुलाई लक्षित गरी नगरपालिकाले बजेट तथा कार्यक्रम बनाउन सहयोग पुग्नेछ ।
उक्त बालभेलामा हरिवूर्बा नगरपालिकाको केश्वर गरिब जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार ठाकुर, विद्यालयका शिक्षकहरु, नगरपालिकाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बागमती सेवा समाज नेपालका सामाजिक परिचालक अशोक माली लगायतले गर्नु भएको थियो ।



