लालबन्दी नगरपालिकाको परवानीपुरमा कृषि क्याम्पस निर्माण प्रक्रिया अघि बढ्दै, सार्वजनिक सुनुवाइ सम्पन्न

सर्लाही, १० वैशाख — सर्लाहीको लालबन्दी नगरपालिकामा प्रस्तावित कृषि क्याम्पस निर्माणका सम्बन्धमा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। काठमाडौ विश्वविद्यालयद्वारा सञ्चालन गर्न लागिएको “स्कुल अफ एग्रीकल्चर” स्थापना प्रक्रियाअन्तर्गत सुनुवाइ आयोजना गरिएको हो।
लालबन्दी नगरपालिका–१५ बोहोरेडाँडास्थित पुष्पलाल स्मृति पार्कमा सम्पन्न कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य नीतिमा भण्डारी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, उपप्रमुख कल्पनामाया पाख्रिन लगायत जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय नेता तथा सरोकारवालाहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले लालबन्दीमा कृषि क्याम्पस स्थापना हुनु क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हुने धारणा व्यक्त गरे। उनीहरूले क्याम्पस सञ्चालनमा आएपछि सर्लाहीसहित आसपासका जिल्लाका विद्यार्थीलाई कृषि विषयको उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे।

नगरप्रमुख अधिकारीका अनुसार परवानीपुरस्थित खाली वन क्षेत्रको जग्गामा क्याम्पस स्थापना गर्ने योजना रहेको छ। उनले जग्गा प्राप्ति तथा बजेट व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए।
सुनुवाइका क्रममा सहभागीहरूले वातावरणीय प्रभाव, वन क्षेत्रको उपयोग र स्थानीय समुदायमा पर्ने असरबारे चासो व्यक्त गरेका थिए। प्राविधिक टोलीले सम्भावित असर न्यूनीकरणका उपायहरूबारे जानकारी गराएको थियो।
यसैबीच, कार्यक्रममा सहभागी हुन परवानीपुर पुगेकी सांसद कार्कीले प्रस्तावित क्याम्पस निर्माणस्थलको अवलोकनसमेत गरेकी थिइन्।
प्रस्तावित कृषि क्याम्पस सञ्चालनमा आएमा मधेश प्रदेशमै कृषि शिक्षा तथा अनुसन्धानको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।



