– परशुराम घिमिरे निदान
हो आमा ! म बाबाको मुख हेर्ने गरि तीजमा आउँला भन्थे । अौंसी तीज पञ्चमी मानेर बा, आमा संगै बसेर रमाईलो गर्ने गरि आउँला भन्थेँ । घर गाउँका छिमेकी मेरा आँत मिल्ने संगीहरुसँग छमछमी नाचौँला भन्थेँ त्यो मंगलेश्वर महादेव मन्दिर र थानेश्वर मन्दिर दुवै दर्शन गरौँला भन्थेँ ।
ती हरियाली बन पाखा गुन्जने गरी पुराना तीजका गीत भाका हालेर गाउँला भन्थेँ तर आमा सुन्दैछु यसपाली पनि तपाई भाउजुलाई माईत जानबाट रोक्दै हुनुहुन्छ रे ! कति बर्ष भयो भाउजुले बुबाको मुख नहेरेको? आमा र बहिनीहरु संग बसेर दर नखाएको ? ती बालसंगीहरु संग ननाँचेको ?
ती वनपाखा लाई तीजका गीत नसुनाएको ? आमा ! म तपाईंकि छोरी भएझैं भाउजूको पनि कसैकि छोरी होइनन् ? मेरो माईत भएझैं उनको पनि माया गर्ने माईती छैनन र ? उनलाई पनि माईत जाने रहर न लाग्दो होला र ? मेरा रहर र भाउजूका रहर के भिन्नै हुन र ? आमा ! जस्तै भए पनि माईती सबैलाई प्यारो लाग्छ ।
अझ पर्वहरुमा त माईती याद नआउने कुरै भएन आमा ! तपाईं सासू होइन छोरी भएर एक पटक सोच्नुस् ,सासू होइन आमा भएर हेर्नुस् तपाईं पनि कुनै समय बुहारी न बनेको होइन नी ? ल त्यति भएन एक असल महिला भएर बुझ्नुस् महिलाको पीडा ।
आमा पहिलेका दिनमा मलाई यहाँ सासुले हल्का मात्रै पनि ठूलो स्वर गर्दा मलाई तपाईंको कति याद आउँथ्यो ।कुना पसेर कति रोएंँ ? तपाईंलाई सुनाउँदा मेरी सासुलाई कति गाली गर्नु हुन्थ्यो भन्नू त ? मेरो बिहे पछि बल्ल पो ! थाहा भयो भाउजू गोठमा पसेर किन रुन्छिन् भन्ने कुरा ।आमा मेरा लागि भाउजुले माईत जान नपाउनुभएको हो भने म पनि यसपालि माईत आउँदि नँ ।किनकि छोरी नआउँदाको पीडा हजुरले पनि अनुभव गर्नु पर्छ यस पटक ।
म यहीँको बुबाको मुख हेर्छु यहीँकै आमा संँगै बसेर दर खान्छु आमा । मेरी भाउजुको सासू र मेरी सासूमा निकै ठुलो अन्तर छ । यहाँ दुईवटी नन्द र तीनवटी आमाजुू आउँने हुँदा पनि मलाई कुनै तीजमा रोक्नु भएन । तर म जाबो एउटीको लागि भाउजुले किन रोकिने ? यी प्रश्न तपाईका लागि हुन आमा । छोरी र बुहारीलाई समान व्यवहार गर्न नसक्नुमा कारण के हो ? म जान्न चहान्छु आमा ! जवाफ के छ ? हवस् त नमस्कार ! उहीँ तपाईंकि छोरी चम्पा