सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका स्थित भैरबपुरमामा थारु संस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको कार्यालय सञ्चालनमा आएको छ ।सम्वद्र्धन केन्द्रका अध्यक्ष सूर्यनारायण चौधरीको अध्यक्षतामा प्रमुख अतिथी संविधानसभा सदस्य रामचन्द्र चौधरीको हातबाट कार्यालयको समुद्घाटन गरिएको समुद्घाटन समारोहका कार्यक्रम सञ्चालक नाथुराम चौधधरीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सर्लाही र समाज कल्याण परिषदमा विधिवत दर्ताभई क्रियाशिल रहेको केन्द्रले लालबन्दी नगरपालिका वडा नम्बर ३ जब्दी भैरबपुरमा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, लालबन्दी नगरपालिकाकी उप–प्रमुख कल्पना पाख्रिनको विशिष्ट आतिथ्यता रहेको थियो ।
भर्खरै स्थापना भएको थारु संस्कृति संरक्षण प्रवद्र्धन केन्द्रले थारु समुदायको संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको कार्यमा सक्रिय भई लाग्ने संस्थाका अध्यक्ष सूर्य नारायण चौधरीले बताउनुभयो ।
लालबन्दी नगरपालिका ३ भैरबपुर थारु बाहुल्यता भएको वडा हो । भैरबपुरसहित सर्लाहीको राजमार्ग दक्षिणतर्फ हरिपुर, ईश्वरपुर, चन्द्रनगर लगायतको क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ ।कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथी, विशिष्ट अतिथी तथा अतिथि वक्ताहरुले थारु संस्कृति संरक्षण प्रवद्र्धन केन्द्र पूर्ण सफलताको कामना गरेका थिए ।
त्यस्तै कार्यक्रममा थारु कल्याणकारिणी समितिका पूर्व महामन्त्री आमिरी चौधरी, पूर्व सल्लाहकार उदयनारायण चौधरी, लालबन्दी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बुद्धदेव चौधरी, थारु कल्याणकारीणी समितिका पूर्व सभापति एवम केन्द्रीय पार्षद बलिराम चौधरी, केन्द्रीय पार्षद कमल चौधरी, सुनिता सिंह लगायतको आतिथ्यता रहेको आयोजक थारु संस्कृति संरक्षण प्रवद्र्धन केन्द्रले जनाएको छ ।