२९ पुष २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
युवाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व सम्हाल्न अघि बढ्न प्रेरित गरे – मुख्यमन्त्री सिंह – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाज

युवाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व सम्हाल्न अघि बढ्न प्रेरित गरे – मुख्यमन्त्री सिंह

 

प्रदिप कुमार दास, रौतहट।

कार्तिक १७ गते, शनिबार ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले युवाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्व सम्हाल्न अघि बढ्न प्रेरित गरेका छन्। रौतहट सदरमुकाम गौरमा न्यू दियालो युवा क्लबद्वारा आयोजित “रौतहट युवा संवाद २०८१” कार्यक्रममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले आगामी प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, र विधायक युवाहरु नै हुने विश्वास व्यक्त गरे। उनले ड्रग्स तथा अन्य नशालु पदार्थको सेवन गरेर आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेलिरहेका युवाहरुलाई जोगाउन शिक्षित र जागरुक युवाहरुलाई नेतृत्व लिन आग्रह गरे। उनले कुलतमा फसेका युवाहरुका लागि पनि मधेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।

युवा वर्गलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम तथा अवसरहरु अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले लोकसेवा आयोगलाई सक्रिय बनाएको र प्रदेशमा रोजगारी सिर्जना गर्न, कृषि बजार स्थापना, आधुनिक विद्यालय, फिल्म सिटी र एजुकेशन पार्क निर्माण जस्ता योजनाहरू सञ्चालन गरेको जानकारी दिए। सिंहले भने, “नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा निर्भर छ, तर अब दक्ष र शिक्षित युवा मात्रै विदेश जाने अवस्थामा पुग्नुपर्छ।” उनले स्वदेशमै रोजगारीका अवसर प्रदान गरेर युवाहरुलाई विदेश पलायनबाट रोक्न सकिने विचार राखे।

गौर नगर प्रमुख शम्भु साहले युवाहरु बेरोजगारीको कारण विदेश जान बाध्य भएको उल्लेख गर्दै देशलाई अघि बढाउन ठोस भिजनको खाँचो रहेको बताए। उनले हालको सरकारले यस्तो स्पष्ट दृष्टिकोण नबनाउँदा देश हरेक क्षेत्रमा पछि पर्दै गएको बताए।

कार्यक्रममा विभिन्न वक्ताहरुले युवाहरुका लागि विकास र सहयोगका आवश्यकता र प्राथमिकताहरूमा चर्चा गरे। आयोजक संस्था “एस टुगेदर यू कैन” का सचिव ओमनाथ ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ममता झा, आदर्श सहनी, आदित्य मिश्र र मोसिमा खातुनले पनि युवा विकासका विषयमा आफ्नो धारणा प्रस्तुत गरे।

यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार संजय यादव, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जयसवाल, अधिवक्ता रतिश झा, मौलापुर नगरपालिकाका मेयर प्रत्यासी राम कल्याण यादव र गरुडा मेयर प्रत्यासी दीपक यादव लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका अन्तिम चरणमा विभिन्न विषयका जानकारहरुलाई सहभागी गराई युवाको भविष्यबारे छलफल गरिएको थियो। अधिवक्ता युवराज मुखियाले कार्यक्रम सञ्चालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button