२७ भाद्र २०८२, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा २० जना विपन्न बालबालिकालाई लुगा वितरण – Nigrani Today
ताजा खबरसमाचारसमाज

चन्द्रनगरमा २० जना विपन्न बालबालिकालाई लुगा वितरण

सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ का स्थानीय युवा संजय पासवानले शुक्रबार २० जना विपन्न बालबालिकालाई नयाँ लुगा वितरण गरेका छन् । सामाजिक उत्तरदायित्वप्रति जागरूक हुँदै उनले बालबालिकाको हौसला र आत्मसम्मान बढाउने उद्देश्यले आफ्नै पहलमा यो कार्य गरेका हुन् ।

कार्यक्रम समाजसेवी पुनित पासवान, ब्रह्मपुरी गाउँपालिकास्थित पिपरामा बस्ने टिकटकर तथा कलाकार नितु यादव र ईश्वरपुर नगरपालिका निवासी कृष्णा सहनीको सक्रियतामा सम्पन्न भएको हो । उनीहरूको समन्वयमा दलित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई सहयोग पुर्याइएको बताइएको छ ।

मलेसियामा वैदेशिक रोजगारीका क्रममा कार्यरत रहेका संजय पासवान टिकटकमार्फत पनि सक्रिय छन् । टिकटकमा गेम खेल्दा जितेको रकमलाई सदुपयोग गर्दै उनले यसपटक स्थानीय समुदायका बालबालिकाको सहयोगमा खर्च गरेका हुन् । उनले ढांगर, माझी, पासवान र केवट समुदायका बालबालिकालाई विशेष गरी भेष्ट र पाइन्ट वितरण गरेका छन् ।

यस अवसरमा समाजसेवी पुनित पासवानले समुदायका सम्पन्न व्यक्तिहरूले आफ्नो समाजप्रतिको दायित्व बुझ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “एक जनाको सहयोगले धेरै बालबालिकाको अनुहारमा मुस्कान ल्याउन सकिन्छ । आज संजयजीले गरेको कामले अरुलाई पनि प्रेरणा मिल्नेछ ।”

त्यस्तै, कलाकार नितु यादवले विदेशमा रहेर पनि जन्मभूमि सम्झेर योगदान पुर्याउनु उदाहरणीय भएको बताए । उनले सामाजिक सञ्जाललाई मनोरञ्जन मात्रै नभई समाजसेवामा प्रयोग गर्न सकिने देखाएको भन्दै प्रसंशा गरे ।

स्थानीय बासिन्दाहरूले यस प्रकारको सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्न सके बालबालिकामा आत्मविश्वास वृद्धि हुने र समाजमा सकारात्मक ऊर्जा पैदा हुने विश्वास व्यक्त गरेका छन् ।

यसरी छोटो तर हृदयस्पर्शी कार्यक्रममा २० जना दलित तथा विपन्न परिवारका बालबालिकाले नयाँ लुगा पाएपछि अत्यन्तै खुशी व्यक्त गरेका छन् । बालबालिकाले नयाँ कपडा पाउँदा उनीहरूको अनुहारमा देखिएको मुस्कानले सम्पूर्ण उपस्थितलाई भावुक बनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button