१८ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा न्यानो कम्बल वितरण – Nigrani Today
Uncategorized

ईश्वरपुरमा न्यानो कम्बल वितरण

सर्लाही । ग्रामीण नारी उत्थान सङ्घ हरिपुर र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा ईश्वरपुर नगरपालिका सँगको सहकार्य र समन्वयमा ईश्वरपुर नगरपालिका वडा नम्बर–९ स्थित कुरनिया, खुसीपुर र खोरिया टोलका सीमान्तकृत दलित मुसहर समुदायका २७८ घरधुरीका १ हजार २ सय २४ जनाका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कम्बल हस्तान्तरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्य, वडा नम्बर–९ का वडा अध्यक्ष एवं स्थानीय बाल अधिकार समिति (MCRC) संयोजक  नन्दलाल चौधरी, कार्यसमिति सदस्य श्री गणेश ठाकुर तथा ग्रामीण नारी उत्थान सङ्घ हरिपुर–२ की अध्यक्ष  गोमादेवी न्यौपानेको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय वडा सदस्य तथा विभिन्न समुदायका अगुवाहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख आचार्यले जाडोयामलाई मध्यनजर गर्दै सीमान्तकृत तथा दलित मुसहर समुदायका लागि गरिएको यो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो वर्षहरूमा समेत ग्रामीण नारी उत्थान सङ्घले निरन्तर रूपमा विभिन्न वडाका सीमान्तकृत, दलित तथा अल्पसंख्यक समुदाय लक्षित गरी कम्बल वितरण गर्दै आएको उल्लेख गर्दै यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । साथै उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै वडा अध्यक्ष नन्दलाल चौधरीले संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षामा केन्द्रित रही विभिन्न समुदायस्तरीय कक्षा तथा सत्र सञ्चालन गर्दै आएको बताउँदै यसले कुरिनिया, खुसीपुर र खोरिया टोललाई नमुना बस्तीको रूपमा विकास गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले आयोजक ग्रामीण नारी उत्थान सङ्घ तथा सहयोगी संस्था सेभ द चिल्ड्रेनलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले सीमान्तकृत दलित तथा मुसहर समुदायका बालबालिका र अशक्त व्यक्तिहरूको संरक्षणका लागि संस्थाले वर्षेनी न्यानो कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । कार्यक्रम कम्बल वितरणमा मात्र सीमित नभई बालबालिकाको सुरक्षा, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी आमाहरूको स्याहार, विद्यालय पहुँच विस्तार, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाहरू, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखी कम्बल वितरण गरिएको थियो । अपाङ्गता तथा अन्य कारणले अशक्त भएका व्यक्तिहरूको घरमै पुगेर समेत कम्बल हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

कम्बल वितरणबाट लाभान्वित भएका अभिभावकहरूले गरिब तथा सीमान्तकृत समुदायका लागि निरन्तर सहयोग गर्दै आएकोमा आयोजक संस्था, नगरपालिका र वडा कार्यालयप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button