मधेशी दलितको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न नयाँ र पुराना दलहरु असफल : प्रभु साह

काठमाडौं, २ फागुन ।आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शुन्य स्थान किन भन्दै नयाँ र पुराना दलहरुसंग प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण घटना भएको उनले बताएका छन् ।
‘नयाँ पार्टी र पुराना पार्टीमा किन कुनै अन्तर देखिएन ? दलितमा पनि बढ़ी अपहेलित मधेशी दलितप्रतिको यो विभेदले निर्वाचन प्रणाली र पुरै संवैधानिक ब्यवस्था माथी नै प्रश्न खड़ा गरेकोछ । यो बिभेद देशकै लागि दुर्भाग्य हो,’ आजपा अध्यक्ष साहले भनेका छन् ।
दलित समुदायभित्र पनि अझ बढी अपहेलित मधेशी दलितलाई पूर्ण रूपमा बेवास्ता गर्नु सामाजिक न्याय र समावेशी लोकतन्त्रको सिद्धान्त विपरीत भएको उनले जनाएका छन् ।
साथै उनले नयाँ दल र पुराना दलबीच कुनै फरक नदेखिएको उल्लेख गर्दै, सबैले मधेशी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको बताए । साहका अनुसार, यो विभेदले देशको लोकतान्त्रिक अभ्यास र संवैधानिक संरचनामाथि गम्भीर चुनौती खडा गरेको छ ।
अध्यक्ष साहले सबै राजनीतिक दललाई मधेशी दलितको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै, राज्यका सबै निकायमा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्न जोड दिएका छन् ।



