
सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुरस्थित मलंगवा सडकखण्डमा भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको मृत्यु भएको छ।
शुक्रवार दिउँसो करिब २ः३० बजेको समयमा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकललाई ना ७ ख ७३६९ नम्बरको कबाड लोड गरिएको १४ चक्के ट्रकले जुटपानी लड ब्राइट स्कुल नजिक ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति लालबन्दी नगरपालिका–२ निवासी करिब ६०÷६५ वर्षका मेन्डु दोर्जे लोप्चन रहेको पहिचान खुलेको छ। ठक्करपछि ट्रक चालक भने फरार रहेका छन्। चालकको नाम, थर र वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी नायब निरीक्षक सुधिर कुमार यादवको कमाण्डमा १० जना, इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा १० जना, इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कट्टेलको कमाण्डमा ८ जना, नवलपुर बेसबाट प्रहरी सहायक निरीक्षक मोहिचन प्रसाद यादवको कमाण्डमा १५ जना तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको कमाण्डमा २१ जना गरी जम्मा ६६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
फरार चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।



