रौतहटको चारवटै क्षेत्रमा मोवाइल छापका उम्मेदवार बिजयी हुने निश्चित छ : त्रिभुवन साह

रौतहट, २६ माघ
आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ ले यसपटकको निर्वाचनमा रौतहटको चार वटै क्षेत्रमा आजपाका उम्मेदवार बिजयी हुने ठोकुवा गरेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी छलफल एवं भेटघाटका क्रममा आज रौतहटको पाथरा, बिनागरा, बरियारपुर लगायतका गाउँमा पुगेका साहले पार्टीले उठाउदै आएको एजेण्डा आम नागरिकको हितमा भएको बुझाई सबैको रहेको बताए ।
आजपा अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार समेत रहेका प्रभु साहले विगतदेखी रौतहटमा गर्दै आएको विकाश एवं सामाजिक कार्यका कारण आम मतदाताले मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी गराउने उनले बताए ।
रौतहट–१ बाट त्रिभुवन साह अमर, २ बाट श्रीभगवान पटेल, ३ बाट प्रभु साह र ४ बाट वरिष्ठ पत्रकार समेत रहेका ऋषी धमाला उम्मेदवार रहेको बताउदै उनले यि चारै उम्मेदवार बिजयी हुने बताए ।
‘यस पटकको निर्वाचनमा रौतहटका चार वटै क्षेत्रमा मोवाइल छापका उम्मेदवार बिजयी हुने निश्चित रहेको छ । चुनावमा जितेर काम नगर्ने ठुलाठुला नेताहरुलाई यसपटको निर्वाचनमा जिल्लाबासीले मतदान नगर्ने र सबैले मोवाइल छापमा मतदान गर्ने बताउदै गर्दा हामी उत्साही भएका छौं,’ रौतहट १ मा माधव नेपालसंग प्रतिस्पर्धामा उत्रेका साहले भने ।
जनताको चाहना, आवश्यक्ता अनुसार रौतहटको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिजुलीबती लगायतका एजेण्डामा आजपाले नै पुरा गर्न सक्ने बुझाई रौतहटबासीको रहेकाले रौतहट मोवाइलमय बनेको टिप्पणी उनले गरे ।
‘रौतहटको विकासका लागि हामीसंग स्पष्ट एजेण्डा र योजनाहरु छन् । बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं,’ आजपा नेता साहले भने, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।’
रौतहटको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष हामीले नै गर्दै आएकाले आजपाका चारवटै उम्मेदवार बिजयी हुने निश्चित रहेको उनले बताए ।



