२६ माघ २०८२, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नारायणकाजी श्रेष्ठ: “राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न अब रोजगारी, सुशासन र समृद्धि अनिवार्य” – Nigrani Today
ताजा खबर

नारायणकाजी श्रेष्ठ: “राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न अब रोजगारी, सुशासन र समृद्धि अनिवार्य”

महोत्तरी। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री/पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनबाट प्राप्त लोकतान्त्रिक अधिकार, संघीयता र समावेशीकरणका उपलब्धिहरू महत्वपूर्ण भए पनि अबको मुख्य कार्यभार सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
महोत्तरीमा आयोजित पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खानेपानी, बिजुली, बाटोघाटो, सूचना–सञ्चार लगायत जनताको आधारभूत आवश्यकता सुनिश्चित नगरेसम्म राजनीतिक परिवर्तनको औचित्य पुष्टि नहुने बताए।
श्रेष्ठले अहिले पनि हजारौं नेपाली युवा र श्रमिक परिवार पाल्न, बालबच्चा पढाउन र स्वास्थ्य उपचारका लागि बाध्य भएर खाडी मुलुकसहित विदेश जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै भने, “विदेशमा काम गर्न जाने कुरा रोक्नु आवश्यक छैन, तर नेपालमै रोजगारी नपाएर बाध्य भएर विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ।”
उनले सामाजिक–आर्थिक रूपान्तरणको यात्रामा सबैभन्दा ठूलो बाधा भ्रष्टाचार, दलाली र राज्य दोहनको प्रवृत्ति रहेको आरोप लगाए। “भ्रष्टाचारविरुद्ध ठूलो अभियान नचलाई, कानुनी शासन कायम नगरी राष्ट्रिय पुँजी, उद्योगधन्दा र रोजगारीको विकास सम्भव छैन,” उनले भने।
श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारमा आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन तस्करी र ललिता निवास प्रकरण जस्ता ठूला भ्रष्टाचार प्रकरणमा कारबाही प्रक्रिया अघि बढाइएको बताए।
तराई–मधेशमा फैलिएको मिटरब्याजी पीडितको समस्या समाधानका लागि आयोग/समिति गठन गरी २६ हजारभन्दा बढी पीडितको निवेदन संकलन गरिएको र करिब ५ हजार पीडितलाई तमसुक च्यात्ने, घरबार फिर्ता गराउने लगायतका काम अघि बढाइएको उनले बताए।
श्रेष्ठले भ्रष्टाचारविरुद्ध र सुशासनका अभियानलाई निरन्तरता दिन नपाएको कारण देशमा असन्तुष्टि बढ्दै गएको र त्यसैको परिणामस्वरूप “जेन्जी आन्दोलन” जस्तो आन्दोलन जन्मिएको उल्लेख गरे। उनले उक्त आन्दोलनमा भ्रष्टाचारविरुद्ध सुशासन, राजनीतिक दलहरूको सुधार र राजनीतिक स्थायित्व गरी तीन मुख्य एजेन्डा रहेको बताए।
श्रेष्ठले अबको निर्वाचन केवल सामान्य चुनाव नभई देश बचाउने कि नबचाउने, संविधान र लोकतन्त्र जोगाउने कि गुमाउने तथा सुशासन र समृद्धितर्फ जाने कि असफल राज्यतर्फ धकेलिने भन्ने निर्णय गर्ने चुनाव भएको बताए। उनले राष्ट्रिय स्वाधीनता, संविधान–लोकतन्त्रको रक्षा र सुशासन–समृद्धि–सामाजिक न्यायलाई निर्णायक मुद्दा बनाउँदै पार्टीलाई जिताउन आग्रह गरे।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र मधेश प्रदेश सरकारका पूर्व मन्त्री भरत शाह लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button