सर्लाही–३ मा नारायणकाजीको पक्षमा अशोक यादवको सक्रियता

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका नेता अशोक यादवले निर्वाचन नजिकिँदै गर्दा पार्टीका युवा, विद्यार्थी तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर चुनावी अभियान तीव्र बनाउन आग्रह गरेका छन्।
उनले तारा छाप र पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको बारेमा गाउँ–टोल, घर–घरमा गएर जनतालाई स्पष्ट रूपमा बुझाउनुपर्ने बताए। यादवले श्रेष्ठलाई सुशासन, सामाजिक न्याय, गरिब तथा कमजोर वर्गको पक्षमा आवाज उठाउने र संकटमा जनताको साथ दिने अनुभवी नेतृत्वको रूपमा उल्लेख गरे।
“यति अनुभवी, इमानदार र संघर्षशील उम्मेदवार हाम्रो निर्वाचन क्षेत्रमा आउनु क्षेत्रका लागि सौभाग्यको कुरा हो,” उनले भने।
यादवले चुनावको बेला विभिन्न प्रकारका प्रलोभन, दबाब र भ्रम फैलाउने प्रयास हुने भन्दै मधेसका जनतामाझ फैलाइँदै आएको भ्रम चिर्नुपर्नेमा जोड दिए। उनले मधेस पीडामा परेको बेला कसले साथ दियो भन्ने कुरा जनताले सम्झिनुपर्ने बताए।
उनले पार्टीका एजेण्डा संघीयता, समावेशीकरण, समानता, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र जनताको अधिकारलाई जनतामाझ प्रभावकारी रूपमा लैजान आग्रह गर्दै “अब बस्ने होइन, खट्ने समय आएको” बताए।
अन्त्यमा उनले सर्लाही निर्वाचन क्षेत्र नं ३ बाट नारायणकाजी श्रेष्ठलाई जिताएर संसद पठाउने दृढ संकल्पका साथ एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरे।



