इनिशा विक हत्या प्रकरण ः कारबाहीको माग गर्दै मलंगवामा प्रदर्शन

सुर्खेतमा इनिशा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।आइतवार सर्लाहीको सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गरिएको हो । मलंगवाको शहीद चोकमा इनिशा विक हत्या प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। मानवअधिकार रक्षक सञ्जाल, ओरेक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा आयोजित कार्यक्रममा दोषीलाई कडा कारबाही र निष्पक्ष छानबिनको माग गरिएको छ।
प्रदर्शनकारीहरूले इनिशा विकलाई न्याय दिलाउन, घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य अपराध दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। ¥यालीमा सहभागीहरूले “इनिशालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर”, “दोषीलाई तुरुन्त कारबाही गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध मानवअधिकारर्मी मुकेश मिश्राले जानकारी दिनुभयो ।
स्थानीय अगुवाहरूले बालबालिकामाथि हुने हिंसा र हत्या जस्ता घटनाले समाजलाई गम्भीर रूपमा आक्रान्त बनाएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन राज्यले ढिलाइ गर्न नहुने बताए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन तथा बालबालिकाको सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्न पनि सरकारसमक्ष माग गरेको अर्मा अधिकारकर्मी गुञ्जा साहले जनाउनु भएको छ । यस घटनाले जिल्लाभरि नै आक्रोश र चिन्ता बढाएको स्थानीयले बताएका छन्।
इनिशा विक हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान थालेको छ । २३ फागुनमा वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो । वीरेन्द्रनगर– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो ।
वीरेन्द्रनगर– ६, स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् । जंगलमा अचेत अवस्थामा भेटिएकी इनिशाको पोस्टमार्टम रिपोर्टमा अत्याधिक रक्तश्राप रहेको उल्लेख छ । प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो । अनुसन्धानका क्रममा पक्राउ परेका ती बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राप भएको र उनी बेहोस भएको बयान दिएका छन् ।प्रहरीले थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
घटनास्थलबाट पक्राउ परेका बालकले अचनाक इनिशा बेहोस भएपछि अन्य तीन जना साथीलाई बोलाएको बयान दिए पनि पीडित परिवारले भने चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कानुनबमोजिम कारबाहीको माग गरेर शव बुझ्न मानेका छैनन् । पीडित परिवारले २५ फागुनमा पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फेरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको शव परीक्षण गरेको थियो । उक्त परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको उल्लेख छ ।



