३० फाल्गुन २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही,३० फागुन । सुर्खेतमा इनिशा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।शनिबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरमा दलित अधिकारकर्मी, स्थानीय बासिन्दा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ¥यालीसहित विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनकारीहरूले इनिशा विकलाई न्याय दिलाउन, घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य अपराध दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

¥यालीमा सहभागीहरूले “इनिशालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर”, “दोषीलाई तुरुन्त कारबाही गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।स्थानीय अगुवाहरूले बालबालिकामाथि हुने हिंसा र हत्या जस्ता घटनाले समाजलाई गम्भीर रूपमा आक्रान्त बनाएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन राज्यले ढिलाइ गर्न नहुने बताए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन तथा बालबालिकाको सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्न पनि सरकारसमक्ष माग गरेको दलित अधिकारकर्मी राजाराम पासवानले जनाउनु भएको छ । यस घटनाले जिल्लाभरि नै आक्रोश र चिन्ता बढाएको स्थानीयले बताएका छन्।

इनिशा विक हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान थालेको छ । २३ फागुनमा वीरेन्द्रनगर नगरपालिका– १ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो । वीरेन्द्रनगर– ४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो ।वीरेन्द्रनगर– ६, स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् ।

जंगलमा अचेत अवस्थामा भेटिएकी इनिशाको पोस्टमार्टम रिपोर्टमा अत्याधिक रक्तश्राप रहेको उल्लेख छ । प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो । अनुसन्धानका क्रममा पक्राउ परेका ती बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राप भएको र उनी बेहोस भएको बयान दिएका छन् ।प्रहरीले थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

घटनास्थलबाट पक्राउ परेका बालकले अचनाक इनिशा बेहोस भएपछि अन्य तीन जना साथीलाई बोलाएको बयान दिए पनि पीडित परिवारले भने चारै जनाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कानुनबमोजिम कारबाहीको माग गरेर शव बुझ्न मानेका छैनन् । पीडित परिवारले २५ फागुनमा पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि भेरी अस्पताल बाँकेका फेरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल पुगेर इनिशाको शव परीक्षण गरेको थियो । उक्त परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको उल्लेख छ ।

घटना भएको ६ दिनसम्म पनि वास्तविक तथ्य बाहिर नल्याएको भन्दै परिवारले इनिशाको शव बुझ्न मानेका छैनन् । सामूहिक बलात्कारपछि हत्या भएको घटनामा मृत्युको कारण रक्तश्राप देखाएर दोषीलाई उम्काउन खोजिएको उनीहरूको आरोप छ । घटना भएको लामो समयसम्म पनि प्रहरीले विश्वस्त हुने आधार नदिएको भन्दै पीडित परिवारले आन्दोलनसमेत थालेका छन् । मृतक इनिशाकी आमा तिलाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग गरिरहेकी छन् । उनको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा अलपत्र छ ।

इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै नागरिक समाज र अधिकारकर्मीले न्यायको आवाज उठाएपछि दबाबमा परेको सुर्खेत प्रहरीले सीआईबीको सहयोग लिएको हो । इनिशाको न्यायका लागि संघीय राजधानी काठमाडौंमा समेत अधिकारकर्मीले विरोध जनाएका छन् ।जिल्ला प्रहरी कार्यालय सर्खेतले घटनाको प्रारम्भिक अनुसन्धान सक्काएको छ । अब सीआईबीले घटनाका सबुत प्रमाणका आधारमा अनुसन्धानका थप पाटाहरू केलाउनेछ । सीआईबीले इनिशाको पोस्टमार्टम रिपोर्टलगायतका सबुत प्रमाणहरू लिइसकेको बताइएको छ । प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आएर अनुसन्धान थालेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक एसपी सुधीरराज शाहीले बताए ।

‘पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइललगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएका छौँ,’ उनले भने, ‘केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाएका छौँ । त्यो रिर्पोट आउनसाथ हामी इनिशाको हत्याको अन्तिम निकर्षमा पुग्छौँ ।’ शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठनसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ (झुट बोलेको पक्ता लगाउने मसिन) गर्ने टोलीले पनि अनुसन्धान थालेको छ । प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धानपछि मात्रै अन्य तीन बालकको संलग्ना भए÷नभएको पुष्टि हुनेछ ।

बलात्कारपछि छोरीको हत्या भएपछि इनिशाका बुबा घर आइपुगेका छन् । रोजगारीको सिलसिलामा दुबईमा रहेका इन्द्रबहादुर विक छोरीको हत्या भएको खबर पाएपछि घर आइपुगेका हुन् । नेपाली सेनाबाट अवकाशप्राप्त उनी दुबईमा विगत केही वर्षयता रोजगारी गर्दै आएका थिए ।पारिवारिक स्रोतका अनुसार उनी बिदा सकेर केही महिनाअघि मात्रै दुबई फर्किएका थिए । उनले छोरीको योजनाबद्ध रूपमा हत्या भएको दाबी गर्दै न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन् । घटनास्थलमा पुगेका उनले भने, ‘पार्कबाट घनाजंगलतिर लगेर विभिन्न सामान देखाएर फकाइ मेरो छोरीको हत्या गरिएको देखिन्छ । मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button