लालबन्दीमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ, २ लाख ८४ हजार नगद बरामद

सर्लाही,५ चैत्र। सर्लाहीको लालबन्दी नगरपालिकावडा नं १६ परवानीपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद रकम सहित ११ जनालाई पक्राउ गरेको छ।
बुधबार स्थानीय के.सी. भनिने व्यक्तिको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी, इलाका प्रहरी कार्यालय हरिवनको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले घटनास्थलबाट जुवा खेल्दै गरेका ११ जनालाई नियन्त्रणमा लिनुका साथै जुवाको खालबाट नगद २ लाख ८४ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । साथै जुवा खेल्न प्रयोग गरिएको ६४४ वटा तास र नयाँ नखोलिएको ६ प्याकेट तास समेत बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा लालबन्दी, हरिवन, मलंगवा र ब्रह्मपुरीका विभिन्न वडाका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा पठाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये हरिवन नगरपालिका–३ निवासी ४४ वर्षीय मानबहादुर मोक्तानको स्वास्थ्य अवस्था जाँच गर्दा उनी उच्च रक्तचापका बिरामी रहेको र एक किड्नी मात्र रहेको पाइएको थियो। स्वास्थ्य अवस्था सामान्य नभएपछि उनलाई लालबन्दी नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि सुमेरु अस्पताल पठाइएको छ।
घटनाबारे जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।



