लालबन्दीमा “ग्लोबल मनी विक” मनाइयो

सर्लाही ,५ चैत । सर्लाहीको लालबन्दीमा “ग्लोबल मनी विक” मनाइएको छ। बिहीबार लालबन्दी बैंकर ग्रुपको आयोजनामा बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले “ग्लोबल मनी विक (Global Money Week)” कार्यक्रम मनाइएको छ। “ग्लोबल मनी विक”कार्यक्रम अन्तर्गत लालबन्दीको डुमडुमे मन्दिर देखि जनवादी चौक सम्म लालबन्दीका सबै बैंकहरूको प्रतिनिधिको सहभागितामा ब्यानर सहित प्रभात फेरी गरिएको थियो ।
वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रम विश्वव्यापी अभियानअन्तर्गत सम्पन्न गरिएको हो।
Organisation for Economic Co-operation and Development को संयोजनमा सन् २०१२ देखि सुरु भएको यो अभियान हरेक वर्ष विश्वभर मनाइँदै आएको छ।
यस वर्ष “Smart Money Talks” भन्ने नाराका साथ मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म ग्लोबल मनी विकको १४औँ शृङ्खला मनाइँदैछ। हालसम्म यो अभियान १७६ भन्दा बढी मुलुकका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको बताइएको छ।
नेपालमा भने नेपाल राष्ट्र बैंक ले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै विभिन्न कार्यक्रममार्फत सप्ताहव्यापी रूपमा यो अभियान सञ्चालन गरिरहेको छ। वित्तीय प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूको सक्रिय सहभागितासहित कार्यक्रमहरू आयोजना भइरहेका छन्।
कार्यक्रममा वित्तीय साक्षरता, बचतको महत्व, डिजिटल भुक्तानी, सुरक्षित लगानी तथा वित्तीय अनुशासनबारे जानकारी प्रदान गरिएको थियो।
यस अभियानमार्फत बालबालिका तथा युवालाई जिम्मेवार आर्थिक व्यवहारतर्फ अभिप्रेरित गर्दै दीर्घकालीन रूपमा सुदृढ आर्थिक आधार निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको एन एम बि बैंक लालबन्दीका ब्रान्च म्यानेजर अरुण आचार्यले जानकारी दिनुभयो ।



