
सर्लाही: जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभरका सरकारी कार्यालयहरूमा छड्के अनुगमन सुरु गरेको छ। सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयहरूलाई लक्षित गर्दै अनुगमन थालिएको हो।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया ले नागरिकले सेवा लिने क्रममा भोग्नुपरेका समस्या, ढिलासुस्ती तथा अनियमितता नियन्त्रण गर्न अनुगमन अभियान सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अनुगमनका क्रममा सेवाको गुणस्तर, कर्मचारीको उपस्थिती, कार्यसम्पादनको अवस्था तथा सेवाग्राहीमैत्री वातावरणको मूल्याङ्कन गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले विशेषगरी मालपोत, नापी, नगरपालिका तथा अन्य सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा निगरानी बढाएको जनाएको छ। अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने र आवश्यक परे कारबाही समेत गरिने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो अनुगमनलाई निरन्तरता दिने जनाएको छ।



