२५ चैत्र २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चमेली साकोसले लियो कर्जा सूचना केन्द्रको सदस्यता, ऋण नतिर्ने र दुरुपयोग गर्नेलाई कडाइ – Nigrani Today
ताजा खबरस्थानीय

चमेली साकोसले लियो कर्जा सूचना केन्द्रको सदस्यता, ऋण नतिर्ने र दुरुपयोग गर्नेलाई कडाइ

सर्लाही: चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)ले कर्जा सूचना केन्द्रको सदस्यता लिएको छ। संस्थाले २०८२ माघ ७ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र प्राप्त गरेलगत्तै माघ २० गते कर्जा सूचना केन्द्रको सदस्यता लिएको हो।

कर्जा सूचना केन्द्रमा आबद्ध भएसँगै अब सहकारीले आफ्ना ऋणी सदस्यहरूको विवरण नियमित रूपमा अद्यावधिक गर्ने र कर्जा सूचना लिएर मात्र ऋण लगानी गर्ने व्यवस्था लागू गर्ने भएको छ। यससँगै ऋण नतिर्ने तथा ऋण दुरुपयोग गर्ने सदस्यहरूलाई कालोसूचीमा राखी कर्जा असुली न्यायाधिकरणमा मुद्दा दर्ता गर्ने बाटो समेत खुलेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार आर्थिक मन्दीका कारण समयमै ऋण तिर्न नसक्ने सदस्यहरूलाई सहजीकरण गर्दै जरिवाना छुटको सुविधा दिइँदै आएको छ। तर, पटक–पटक आग्रह गर्दा पनि ऋण नतिर्ने र भाखा नाघ्ने सदस्यहरूमाथि भने सहकारी ऐन, २०७४ को दफा १४ अनुसार कर्जा असुलीका लागि कानुनी प्रक्रिया अघि बढाइनेछ।

चमेली साकोस एक सामुदायिक आधारमा सञ्चालन हुने सहकारी संस्था हो, जसले आफ्ना शेयर सदस्यहरूसँग बचत संकलन गरी ऋण प्रवाह गर्दै आएको छ। आवश्यकताअनुसार साझेदार संस्थाबाट बाह्य ऋण लिएर पनि सदस्यहरूलाई सेवा दिँदै आएको र प्राप्त मुनाफा सदस्यहरूलाई वितरण गर्ने गरिएको संस्थाले जनाएको छ।

संस्थाले सहकारी शिक्षा, आयमूलक तथा सीप विकास तालिम, महिला सशक्तीकरण, युवा उद्यमशीलता, “पढ्दै कमाउँदै” अभियान, “एक घर एक उद्यमी” जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, “तीन शून्य क्लब” (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन) निर्माण र परिचालनका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत सम्मान प्राप्त गरेको छ।

यसअघि संस्थाले “बेटी बचाउ, बेटी पढाउ” अभियान, शौचालयमा पानी कार्यक्रम जस्ता सामाजिक अभियान सञ्चालन गर्दै आएको थियो। हाल सदस्यका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै भारतमा करिब ३५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति तथा बंगलादेशमा १० जनाको कोटा माग गरी प्रोत्साहन गरिरहेको जनाएको छ।

संस्थाका कार्यकारी प्रमुख भरत साहका अनुसार कर्जा सूचना केन्द्रको सदस्यता लिएपछि सहकारीलाई ऋण माग गर्ने सदस्यहरूको आर्थिक गतिविधिको अध्ययन तथा विश्लेषण गर्न सहज हुनेछ। साथै, सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन पनि सहयोग पुग्ने उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button