
लालबन्दी: सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको नगर अस्पतालको ओपिडी लगायतका सेवा आइतबार बन्द गरिएको विषयप्रति स्थानीय नागरिकहरूले गम्भीर आपत्ति जनाएका छन्।
स्थानीय नागरिकका तर्फबाट ठाकुर प्रसाद बख्रेल (मनोज) ले सार्वजनिक गरेको एक अपिलमार्फत स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्रमा सेवा अवरुद्ध हुनु नागरिकको आधारभूत अधिकारमाथि प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ। अपिलमा संघीय सरकारको निर्णयको हवाला दिँदै सेवा बन्द गरिएको भनिए पनि त्यस्तो कुनै निर्णयले स्वास्थ्य सेवा नै प्रभावित पार्ने उद्देश्य नराख्ने स्पष्ट पारिएको छ।
नागरिकहरूले विगतमा जस्तै अस्पतालका सम्पूर्ण सेवा नियमित र निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। अपिलमा नगर प्रमुख तथा सम्बन्धित निकायहरूलाई कुनै पनि बहाना वा विकल्प नराखी तत्काल सेवा सञ्चालन सुनिश्चित गर्न सविनय तर दृढ आग्रह गरिएको छ।
“अन्य प्रशासनिक वा व्यवस्थापकीय समस्या क्रमशः समाधान गर्न सकिन्छ, तर स्वास्थ्य सेवा बन्द हुनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,” अपिलमा भनिएको छ।
यसैगरी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पनि सीमित सुविधा वा प्रोत्साहनभन्दा माथि उठेर आफ्नो पेशागत धर्म, कर्तव्य र जिम्मेवारी निर्वाह गर्दै नियमित सेवा प्रवाहमा समर्पित हुन आग्रह गरिएको छ। नागरिकको विश्वास जित्ने र राष्ट्रसेवकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने अवसरका रूपमा यसलाई लिनुपर्ने अपिलमा उल्लेख छ।
उक्त अपिलको बोधार्थ प्रतिनिधि सभा सदस्य नीतिमा कार्की, प्रदेश सभा सदस्य वेची लुंगेली, नगर प्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पना माया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत, अस्पताल व्यवस्थापन समिति, वडा अध्यक्षहरू लगायत सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई दिइएको छ।
नागरिकहरूले ढिलाइ नगरी पूर्ववत् रूपमा सेवा सञ्चालन गरी आम नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।




