
सर्लाहीको लालबन्दी नगरपालिका–३ लाई “मर्यादित महिनावारी मैत्री वडा” घोषणा गरिएको छ। बाल संरक्षण संस्थाको आयोजना, राधा पौडेल फाउण्डेशन तथा वडा नं. ३ को समन्वयमा शुक्रवार देशभरमै पहिलोपटक लालबन्दी–३ मर्यादित महिनावारी मैत्री वडा घोषणा भएको हो।नेपालमा मर्यादित महिनावारीमार्फत सामाजिक रूपान्तरण, मानव अधिकारको सुनिश्चितता तथा दिगो विकासको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममार्फत महिनावारीसँग जोडिएका देखिने तथा नदेखिने विभेद अन्त्य गर्दै सामाजिक न्याय र लैङ्गिक समानताको सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।नेपालका विभिन्न समुदायमा अझै पनि महिनावारीका कारण महिलाहरू र किशोरीहरू भान्सा, सामाजिक गतिविधि तथा निर्णय प्रक्रियाबाट वञ्चित हुने अवस्था रहेको छ।
यस्ता अभ्यासले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र सामाजिक सम्मानमा समेत नकारात्मक प्रभाव पार्दै आएको सन्दर्भमा यो अभियान सुरु गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।दुई वर्षदेखि सञ्चालन हुँदै आएको यस परियोजनाअन्तर्गत वडा नं. ३, ९ र १० मा मर्यादित महिनावारीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सँग जोड्दै लैङ्गिक हिंसा, सामाजिक मान्यता र संरचनागत विभेदविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।अभियानअन्तर्गत संस्थागत सुदृढीकरण, नीति निर्माण, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तार, समावेशी कार्यक्रम सञ्चालन तथा वातावरणमैत्री महिनावारी सामग्री प्रयोग प्रवद्र्धन गरिँदै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं सर्लाही क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीले महिनावारी हुँदा बार्ने भन्दा पनि सरसफाई गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिईन् ।त्यस्तै मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरले आफूहरुको समुदायमा महिनावारी हुँदा बार्ने र विभेद गर्ने चलन नै नरहेको बताईन् । वडाध्यक्ष वुद्धदेव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललगायतको आतिथ्यता रहेको थियो ।



